विदेशी सम्बन्धनका कलेजमा कडाइ, नयाँ नियमावली स्वीकृत

लोकपथ
56
Shares

काठमाडौं । सरकारले नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र प्रभावकारी नियमनका लागि विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली पारित गरेको हो । नयाँ व्यवस्थासँगै विदेशी सम्बन्धन प्राप्त कलेजका लागि थप कडा मापदण्ड लागू हुने भएका छन् ।

सरकारका अनुसार उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यले नियमावली ल्याइएको हो । यसले नेपालमा सञ्चालन भइरहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूको सञ्चालन, अनुगमन र नियमनलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

नियमावलीअनुसार सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र परेको हुनुपर्नेछ । यसअघि प्रस्ताव गरिएको व्यवस्थाअनुसार विश्वविद्यालय विगत पाँच वर्षदेखि अन्तर्राष्ट्रिय र्‍याङ्किङमा निरन्तर समावेश भएको र कम्तीमा एक पटक उत्कृष्ट १,००० भित्र परेको हुनुपर्ने प्रावधान पनि समेटिएको छ ।

त्यसैगरी, सम्बन्धित कलेजले दुई चरणको क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन प्रक्रिया पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता तथा उपलब्ध जनशक्तिको मूल्याङ्कनका आधारमा विद्यार्थी भर्ना कोटा निर्धारण गरिनेछ ।

सरकारले नयाँ मापदण्ड हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजमा समेत लागू हुने जनाएको छ । तोकिएका मापदण्ड पूरा गर्न नसक्ने कलेजलाई सुधारका लागि निश्चित समय दिइने र त्यस अवधिमा पनि आवश्यक मापदण्ड पूरा नभए सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा आवश्यक कानुनी कारबाही अघि बढाइने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?