खाद्य स्वच्छतामा लापरबाही गर्ने तीन कम्पनीमाथि विभागको कारबाही

लोकपथ
49
Shares

 काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गम्भीर त्रुटि फेला परेपछि काठमाडौंका तीन खाद्य उद्योगमाथि कारबाही गरेको छ ।

विभागले प्राप्त उजुरीका आधारमा ‘र्यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत यही असार १७, १९,२२ र २४ गते आकस्मिक अनुगमन गर्दा एनएस ग्रुप इन्डस्ट्रिज प्रालि (टोखा), अधिकारी तेल मिल (बसुन्धरा) र रोयल स्प्रिङ मिनरल वाटर एण्ड बेभरेज प्रालि (चन्द्रागिरि) मा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीतका गतिविधि भेटिएको विभागले जनाएको छ ।

टोखास्थित एनएस ग्रुप इन्डस्ट्रिजमा उद्योगको सरसफाइ सन्तोषजनक नभएको, प्रशोधन कक्षको टायल जीर्ण अवस्थामा रहेको तथा बजार पठाउन तयारी अवस्थामा रहेका फुटेका, चुँडिएका र क्षतिग्रस्त जार फेला परेका थिए ।

 विभागले त्यहाँ रहेका ४४० वटा क्षतिग्रस्त जार नष्ट गरेको छ । साथै, प्रशोधन कक्षको मर्मत गरी पाँच दिनभित्र सुधार गर्न निर्देशन दिँदै प्रयोगशाला परीक्षणका लागि नमुना पनि संकलन गरिएको छ ।

वसुन्धरास्थित अधिकारी तेल मिलमा प्रशोधन र भण्डारण कक्ष छुट्टाछुट्टै नराखिएको, खाद्य सामग्री पानीसँगै एउटै स्थानमा राखिएको, सरसफाइ कमजोर रहेको तथा पूर्ण लेबल विवरण नभएका खाद्य वस्तु बिक्रीका लागि राखिएको पाइएको विभागले जनाएको छ ।

विभागले ९१० लिटर नरिवल तेल र ९५० केजी काजु, बदाम तथा आलसको बियाँ आपूर्तिकर्तालाई फिर्ता गर्न लगाएको छ । साथै सरसफाइ सुधार गर्न र प्रशोधन तथा भण्डारण कक्ष छुट्टै व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

यस्तै, चन्द्रागिरिस्थित रोयल स्प्रिङ मिनरल वाटर एण्ड बेभरेज प्रालिमा अनुगमनका क्रममा उजुरीमा उल्लेख भएजस्तो लेउ लागेको जारको पानी वा ब्याच नम्बर नभएको पानी भने फेला नपरेको विभागले जनाएको छ ।

तर उद्योगमा कुच्चिएका तथा पुराना जार प्रयोग गरिएको र प्रशोधन कक्ष अव्यवस्थित रहेको पाइएपछि ७० वटा पुराना तथा क्षतिग्रस्त जार नष्ट गरिएको छ ।

उक्त उद्योगलाई सरसफाइमा विशेष ध्यान दिन, अभिलेख व्यवस्थित राख्न निर्देशन दिइएको छ भने जारको पानीको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?