काठमाडौं । संघीय संसदअन्तर्गतको पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले सम्बन्धित मन्त्रालय तथा निकायलाई आगामी १५ दिनभित्र स्पष्ट कार्ययोजना र समयसीमासहितको विवरण पेश गर्न निर्देशन दिएको हो ।
समितिका सभापति आशिष गजुरेलले ७७ वटै जिल्लाका करिब ३ करोड नागरिकलाई पर्याप्त र शुद्ध खानेपानी कहिलेसम्म उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा सरकारसँग ठोस जवाफ माग गरेका छन् ।
उनले काठमाडौं उपत्यकासहित देशभर खानेपानीको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै स्वच्छ खानेपानीको व्यवस्थापन राज्यको प्राथमिक दायित्व भएको बताए ।
सभापति गजुरेलले आम नागरिकले शुद्ध खानेपानी कहिलेसम्म पाउने भन्ने विषयमा अहिलेसम्म स्पष्ट उत्तर प्राप्त हुन नसकेको भन्दै आगामी १५ दिनभित्र कार्ययोजना र टाइमलाइनसहितको विवरण उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए । उनले प्राप्त कार्ययोजनाका आधारमा समितिले नियमन र अनुगमनलाई थप प्रभावकारी बनाउने बताए ।
समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरेर छिट्टै स्थलगत अनुगमन गर्ने तयारी पनि गरेको छ । यसका लागि सरोकारवाला निकायसँग प्राथमिकता र योजनाबारे जानकारी माग्दै पत्राचार गर्ने निर्णय गरिएको छ ।
बैठकमा सडक सुरक्षा विधेयक र विपद्का समयमा यातायात प्रणाली सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो । यी विषयमा मन्त्रालयबाट आवश्यक काम अघि बढिरहेको जानकारी प्राप्त भएको र समितिले त्यसको निरन्तर अनुगमन तथा फलोअप गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया