काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्फको पानी आपूर्ति नै रोक्न बाध्य हुने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले ड्याम रहेको गोकर्णेश्वरका स्थानीय बासिन्दा नै खानेपानीबाट वञ्चित हुनु विडम्बनापूर्ण भएको बताए ।
उनले मेलम्ची आयोजनाको मुहान क्षेत्र र सुन्दरीजल आसपासका स्थानीयले पानी उपभोग गर्न नपाएको भन्दै खानेपानी वितरण प्रणालीमा कर्मचारी र प्राविधिकको मिलेमतोका कारण केही क्षेत्रमा मनपरी रूपमा पानी वितरण भइरहेको आरोप लगाए ।
यस्तो बेथितिका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको उनको भनाइ थियो ।
सांसद पाण्डेले आफूले समेत पानी जडानका क्रममा कर्मचारीको गैरजिम्मेवार व्यवहार भोगेको अनुभव सुनाउँदै आम नागरिकको अवस्था अझै कठिन रहेको बताए ।
उनले भने, ‘ड्याम गोकर्णेश्वरमा छ, तर त्यहाँका १ देखि ९ वडाका बासिन्दा पानी नपाएर तड्पिरहेका छन् । मुहान क्षेत्रका बासिन्दाले पानी खान नपाउने तर त्यहीँबाट अन्यत्र पानी पठाउने अवस्था अब स्वीकार्य हुँदैन। यदि स्थानीयको समस्या तत्काल समाधान भएन भने हामी ड्याम बन्द गरेर पानी रोक्न बाध्य हुनेछौं। म आफैँ अग्रसर भएर पनि पानी रोक्नेछु ।’
आरुबारी क्षेत्रमा निर्माणाधीन दुई करोड लिटर क्षमताको पानी ट्याङ्कीको ठेक्का रद्द भई नयाँ प्रक्रियामा जान लागेको तथा दोस्रो चरणको पाइपलाइन विस्तारमा भइरहेको ढिलाइले स्थानीय थप मर्कामा परेको पनि उनले बताए ।
सांसद पाण्डेले काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजनाका इन्जिनियर तथा कर्मचारीलाई कार्यशैली सुधार्न आग्रह गर्दै कर्मचारीतन्त्रको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण जनअसन्तुष्टि बढेको बताए ।
उनले तत्काल स्थलगत अनुगमन गरी समस्या समाधान गर्न सरकारसँग माग गर्दै स्थानीयको समस्या बेवास्ता गरिए पाइप फुटाउने वा मुहानमै अवरोध गर्ने जस्ता कडा कदम चाल्न आफू पछि नहट्ने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया