कर्णाली । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटनापछि कर्णाली नदीमा बेपत्ता भएका चार जनामध्ये एक जनाको शव कैलालीमा फेला परेको छ ।
असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङगेतडामा कर्णाली नदीमा खसेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडीमा सवार पचालझरना गाउँपालिका–९, कालिकोटका ६२ वर्षीय मेखे तिरुवाको शव कैलालीको मोहन्याल गाउँपालिका–६ मा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार शवको पहिचान मृतकका छोरा रवीन्द्र तिरुवाले गरेका हुन् ।
इलाका प्रहरी कार्यालय चिसापानी कैलालीकी प्रमुख प्रहरी निरीक्षक मीरा खड्काले पनि शव मेखे तिरुवाकै रहेको पुष्टि गरेकी छन् ।
दुर्घटनामा बेपत्ता भएका रास्कोट नगरपालिका–२, कालिकोटकी सिर्जना खड्का, पञ्चपुरी नगरपालिका–८, सुर्खेतका चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी तथा दुर्घटनाग्रस्त गाडीको खोजी भने अझै जारी रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता व्यक्तिहरू र गाडीको खोजीका लागि ‘रिभर भेहिकल म्याग्नेट’, ‘सोनार’, ‘ड्रोन’ र ‘बोरेस्कोप क्यामरा’सहितको उच्च प्रविधियुक्त गोताखोर टोली परिचालन गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका करिब १०० जना सुरक्षाकर्मी पाँच दिनदेखि खोजी तथा उद्धार कार्यमा खटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया