काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) मा स्तरोन्नति गर्ने घोषणा गरेका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले कर्णालीका सडक तथा पुल निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
उनका अनुसार हाल निर्माणाधीन सडक खण्डमा करिब नौ वटा पुल ‘डिजाइन एन्ड बिल्ड’ मोडलबाट निर्माण प्रक्रिया अघि बढाइएको छ । स्थलगत अध्ययनपछि आवश्यकताअनुसार थप पुल निर्माण गरिने पनि उनले जानकारी दिए ।
मन्त्री लम्सालले सडक र पुलको वास्तविक अवस्था तथा देखिएका समस्या बुझ्न आफू आगामी साउन ३ गते कर्णालीको स्थलगत निरीक्षणमा जाने बताए । निरीक्षणपछि सडक र पुलको विस्तृत विवरण सदनमा प्रस्तुत गर्ने उनको भनाइ छ ।
उनले हाल रहेका एक लेन सडकलाई आगामी तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यसै आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र लागत अनुमान तयार गरी निर्माण कार्य सुरु गरिने जानकारी दिए।
पहिचान भएका पहिरोको दीर्घकालीन समाधानका लागि करिब २७ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको र आगामी तीन वर्षभित्र पहिरोको समस्या न्यूनीकरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको मन्त्री लम्सालले बताए ।
उनका अनुसार मुगुसहित सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका कर्णालीका पालिका केन्द्रसम्म सुरक्षित सडक पुर्याउन पर्याप्त बजेट विनियोजन गरिएको छ भने यसै वर्ष ठेक्का प्रक्रिया अगाडि बढाइनेछ ।
सडक दुर्घटना न्यूनीकरणका लागि सडक स्तरोन्नति आवश्यक रहेको उल्लेख गर्दै उनले पहिरो नियन्त्रणका लागि सरकारले विशेष योजना कार्यान्वयन गरिरहेको बताए ।
साथै, उत्तरी सीमा अर्थात् चीनको सीमासम्म सडक सञ्जाल विस्तार गर्ने कार्यलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको जानकारी दिए ।
पर्यटकीय तथा रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको उक्त सडकलाई सीमासम्म विस्तार गर्ने गरी काम अगाडि बढाइने मन्त्री लम्सालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया