४ अर्ब बजेटमाथि महावीर पुनको स्पष्टिकरण : ‘यो पैसा केही पनि होइन’

लोकपथ
21
Shares

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विज्ञान तथा प्रविधिको क्षेत्रमा सरकारले हालसम्मकै ठूलो ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।

उनले कानुनी आधार तयार नभएसम्म विनियोजित रकम खर्च गर्न नसकिने स्पष्ट पारेका हुन् ।

सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले विज्ञान तथा प्रविधिका लागि यसअघि कहिल्यै यति ठूलो बजेट विनियोजन नभएको बताए ।

उनका अनुसार ४ अर्ब रुपैयाँमध्ये ६० करोड रुपैयाँ अघिल्ला कार्यक्रम सञ्चालनका लागि छुट्याइएको छ भने बाँकी ३ अर्ब ४० करोड रुपैयाँ अबण्डामा राखिएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन र नियमावली नबनेकाले खर्चको स्पष्ट योजना तय गर्न नसकिएको उनले बताए ।

उनले मन्त्रालयले अहिले ऐन र नियमावली निर्माणको काम अघि बढाइसकेको जानकारी दिँदै कानुनी व्यवस्था बनेपछि मात्रै अबण्डामा रहेको बजेट कार्यान्वयनमा ल्याइने बताए । कानुनबिना बजेट खर्च गरे अख्तियारको कारबाहीको जोखिम हुने भएकाले हतारमा खर्च गर्न नमिल्ने उनको भनाइ थियो ।

मन्त्री पुनले विज्ञान तथा प्रविधिका लागि छुट्याइएको ४ अर्ब रुपैयाँलाई पनि दीर्घकालीन आवश्यकताका हिसाबले पर्याप्त मान्न नसकिने बताए । अहिलेको अवस्थामा कानुनी संरचना र कार्यक्रमको अभावका कारण यो रकम पनि धेरै देखिएको भए पनि भविष्यमा विज्ञान र नवप्रवर्तनमा अझ ठूलो लगानी आवश्यक पर्ने उनले उल्लेख गरे ।

उनले सरकारले विज्ञान तथा नवप्रवर्तनमा लाग्न चाहने युवालाई प्रोत्साहन गर्ने नीति लिएको जानकारी दिँदै स्थानीय तह र प्रदेश सरकारले समेत यस क्षेत्रमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

पूर्वाधार निर्माणले मात्र देशको विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री पुनले आर्थिक विकासका लागि खोज, अनुसन्धान र नवप्रवर्तनमा लगानी अपरिहार्य रहेको बताए । विज्ञानमा गरिने खर्चलाई खर्च नभई लगानीका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो ।

नेपाल विज्ञान तथा प्रविधिमा पर्याप्त लगानी गर्न नसकेकै कारण पछाडि परेको दाबी गर्दै उनले विकसित राष्ट्रहरू विज्ञान, प्रविधि र अनुसन्धानमा निरन्तर लगानी गरेकै कारण आज समृद्ध बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?