झापा । गृहमन्त्री सुदन गुरुङ सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका समस्या बुझ्ने तथा जंगली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले झापाको भ्रमणमा रहेका छन् ।
आइतबार राति झापा पुगेका गृहमन्त्री गुरुङले सोमबार अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसँग छलफल गरेका छन् ।
छलफलमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालयका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उपअनुसन्धान निर्देशक उमेश पाण्डे सहभागी थिए ।
बैठकमा जिल्लाको समग्र सुरक्षा अवस्था, नेपाल–भारत सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागुऔषध ओसारपसार, मानव बेचबिखनलगायत समसामयिक सुरक्षा चुनौतीका विषयमा विस्तृत छलफल भएको थियो ।
त्यसपछि गृहमन्त्री गुरुङ मेचीनगर नगरपालिका–४ स्थित बाँहुण्डाँगीको हात्ती प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका थिए । सोही क्रममा उनले बुद्धशान्ति गाउँपालिका–६ सन्तपुर पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएका अनिकेत चौलागाईँसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
भ्रमणका क्रममा गृहमन्त्रीले मेचीनगर–७ स्थित सशस्त्र प्रहरी बलको जोरसिमल चेकपोस्टको निरीक्षण गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन् । त्यसपछि उनले मेचीनगर–६ स्थित काँकरभिट्टा नाकामा पुगेर सीमा सुरक्षा व्यवस्था, यात्रु जाँच कक्ष तथा मेची भन्सार कार्यालयको निरीक्षण गर्दै राजस्व संकलन, भन्सार व्यवस्थापन र सीमा नाकाबाट हुने आवतजावतको अवस्थाबारे जानकारी लिएका छन् ।
झापा–भारत सीमाबाट हुने चोरी–पैठारी, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा अवैध सीमा गतिविधिका साथै बाँहुण्डाँगी क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको जंगली हात्तीको समस्याप्रति गृहमन्त्रीले विशेष चासो व्यक्त गरेका छन् ।
बाँहुण्डाँगीमा उनले हात्ती प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीयवासीसँग प्रत्यक्ष संवाद गरी उनीहरूले भोगिरहेका समस्या, गुनासा र सुझाव संकलन गर्ने कार्यक्रम रहेको छ । साथै सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग आवश्यक छलफल गरी निर्देशन दिने कार्यक्रम पनि तय गरिएको छ ।
गृहमन्त्रीको भ्रमणलाई लक्षित गर्दै झापामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार सुरक्षा निकाय विगत करिब ३६ घण्टादेखि उच्च सतर्कताका साथ परिचालित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया