शेयर बजारमा दोहोरो दबाब : नेप्से २६ अंक घट्यो, कारोबार पनि खुम्चियो

लोकपथ
7
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार घटेको छ । बजार मापन गर्ने नेप्से परिसूचक २६.२९ अंक (०.९९ प्रतिशत) ले घटेर २६२७ अंक मा पुगेको छ । शुक्रबार पनि बजार ८.३० अंकले घटेको थियो ।

आज कारोबार रकम पनि घटेको छ । शुक्रबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३ अर्ब ५५ करोड रुपैयाँ मात्रै कारोबार भयो ।

आज ३४ कम्पनीको शेयर मूल्य बढ्यो, २३९ कम्पनीको घट्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

सबैभन्दा धेरै व्यापार समूह ३.१५ प्रतिशतले घट्यो । यसबाहेक बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य सबै समूहका सूचक पनि ओरालो लागे ।

यद्यपि, हालै सूचीकृत भएका सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर र स्नो रिभर फल्सको सेयर मूल्य १५–१५ प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ११.५५ प्रतिशत र बाराही हाइड्रोपावरको ४.०२ प्रतिशतले उकालो लाग्यो ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सिटी होटल र शिवम् सिमेन्ट सबैभन्दा धेरै कारोबार भएका कम्पनी रहे ।

घट्ने कम्पनीतर्फ थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशतले घट्यो। नेपाल फाइनान्स ११.६४ प्रतिशत, खानीखोला हाइड्रोपावर ९.७२ प्रतिशत र उपकार लघुवित्त ६.४५ प्रतिशतले घटे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?