सरकारको कार्यशैलीले निजी क्षेत्र त्रसित भयो : गगन थापा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले आर्थिक अपराध नियन्त्रणका नाममा निजी क्षेत्रका व्यवसायीलाई अपराधीसरह व्यवहार गरेको आरोप लगाएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै थापाले आर्थिक अपराधविरुद्ध सरकारले कानुनी रूपमा अघि बढाएको कारबाहीमा कांग्रेसको पूर्ण समर्थन रहेको स्पष्ट पार्दै त्यसको बहानामा सम्पूर्ण निजी क्षेत्रलाई ठगको रूपमा चित्रण गर्नु गलत भएको बताए ।

उनले सुशासन कायम गर्न र आर्थिक अपराधमा संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही गर्न कांग्रेस सधैं सरकारसँग रहने उल्लेख गर्दै त्यसमा व्यक्ति, नेता वा नातागोताको आधारमा कुनै पक्षपात नगर्ने बताए ।

तर सरकारले अपनाएको कार्यशैलीका कारण निजी क्षेत्र त्रसित बनेको उनको आरोप छ। निर्माण व्यवसायी, बैंकरलगायत निजी क्षेत्रका प्रतिनिधिलाई नै ठगीको दृष्टिले हेर्ने भाष्य निर्माण गरिएको भन्दै उनले यसले लगानी, उद्यमशीलता र आर्थिक गतिविधिमा नकारात्मक असर पारिरहेको टिप्पणी गरे ।

थापाले अहिले मुलुकमा भयको वातावरण सिर्जना भएकाले नयाँ व्यवसाय सुरु गर्न सक्ने क्षमता भएका व्यक्ति पनि हिच्किचाइरहेको बताए। हाल खुलेका केही होटल तथा ठूला परियोजना पुरानै प्रक्रियाअन्तर्गत अघि बढेका योजना भएको उल्लेख गर्दै उनले नयाँ लगानीकर्तामा आत्मविश्वासको वातावरण नरहेको दाबी गरे ।

उनका अनुसार न्यून, मध्यम तथा पुँजी परिचालन गर्न सक्ने वर्गमा समेत लगानी गर्ने विश्वास घट्दै गएको छ। सरकारले यसप्रति कुनै चासो नदिएको आरोप लगाउँदै यही प्रवृत्ति कायम रहे आगामी पाँच वर्षमा मुलुकले ठूलो आर्थिक अवसर गुमाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

थापाले सरकारले निजी क्षेत्रप्रति विश्वासको वातावरण निर्माण गर्दै कानुनी कारबाही र लगानीमैत्री नीति सन्तुलित रूपमा अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?