मकवानपुर । लगातार परेको वर्षाका कारण मकवानपुरमा पर्ने दुई स्थानमा पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने छोटो मार्ग कान्तिराजपथ पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१२, ठिंगनस्थित कान्तिराजपथ खण्डमा राति १२ बजेदेखि परेको वर्षापछि पहिरो खसेर सडक बन्द भएको हो । पहिरो निरन्तर खसिरहेकाले तत्काल सडक खोल्न कठिन भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले बिहान करिब ५:३० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिएको छ । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको छ ।
यस्तै, आज बिहानै भीमफेदी गाउँपालिका–८, भर्याङडाँडामा पनि अर्को पहिरो खस्दा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
अधिकारीहरूका अनुसार दुवै स्थानमा लगातार पहिरो खसिरहेकाले सडक सञ्चालनमा आउन समय लाग्नेछ । यातायात अवरुद्ध हुँदा हेटौँडा–काठमाडौं आवतजावत गर्ने सवारी साधन प्रभावित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया