काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितमा केन्द्रित रहँदै बदलिँदो विश्व राजनीतिक तथा आर्थिक परिस्थितिअनुसार परिमार्जन र सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘प्राध्यापक यदुनाथ खनाल व्याख्यान श्रृङ्खला’को पाँचौँ संस्करणलाई सम्बोधन गर्दै मन्त्री खनालले अन्तर्राष्ट्रिय प्रणालीमा भइरहेका गहिरा परिवर्तन, प्रमुख शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा र प्रविधिको तीव्र विकासले नेपालजस्ता देशका लागि चुनौतीसँगै अवसर पनि सिर्जना गरेको उल्लेख गरे ।
उनका अनुसार नेपालले यस्ता परिवर्तनलाई स्पष्ट दृष्टिकोण, आत्मविश्वास र विवेकपूर्ण कूटनीतिक अभ्यासमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।
कार्यक्रममा बोल्दै उनले नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील सिद्धान्त, असंलग्नता र शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको दोहोर्याए । असंलग्नतालाई निष्क्रिय नीतिका रूपमा नभई राष्ट्रिय हितका आधारमा स्वतन्त्र निर्णय गर्न सक्ने सक्रिय कूटनीतिक दृष्टिकोणका रूपमा बुझ्नुपर्ने उनले जोड दिए ।
मन्त्री खनालले कूटनीति देशको आन्तरिक अवस्था र स्थिरतासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै राजनीतिक स्थिरता र आर्थिक प्रगतिले मात्र अन्तर्राष्ट्रिय साख मजबुत हुने बताए । उनले सरकारले सुशासन र तीव्र आर्थिक विकासलाई प्राथमिकतामा राखेको पनि बताए ।
उनका अनुसार नेपालको वैदेशिक सम्बन्ध कुनै शक्ति राष्ट्रसँगको जिरो–सम खेल नभई सबै मित्र राष्ट्रसँग सन्तुलित र रचनात्मक सम्बन्ध कायम गर्ने नीति हो ।
उनले विदेशस्थित नेपाली नियोगहरूलाई अब आर्थिक कूटनीति, व्यापार प्रवर्द्धन, लगानी आकर्षण र पर्यटन विकासमा केन्द्रित गरिने जानकारी दिए । साथै भू–राजनीतिलाई अवरोध होइन, देशहरूबीच जोड्ने पुलका रूपमा उपयोग गर्नुपर्ने धारणा समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया