रौतहट । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार किसान र सुकुमबासीका समस्याप्रति संवेदनशील नरहेको आरोप लगाएका छन् ।
२३औँ राष्ट्रिय धान दिवसको अवसरमा रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले किसानका समस्या समाधानलाई बजेटमा प्राथमिकता नदिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे । उनका अनुसार सरकार विपन्न वर्ग र किसानको सहयोगी बन्नुको सट्टा बाधक जस्तो देखिएको छ ।
तराईलाई कृषिको उर्वर भूमि भन्दै उनले यहाँका किसानले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गरे । तर मल र गुणस्तरीय बीउबिजनको अभावका कारण किसानले अपेक्षित उत्पादन लिन नसकेको उनको भनाइ थियो ।

पौडेलले जलवायु परिवर्तनको असर पनि किसानमै बढी पर्ने खतरा रहेको भन्दै राज्यले कृषिलाई प्राथमिकतामा नराखे समग्र कृषि क्षेत्र नै संकटतर्फ जाने चेतावनी दिए ।
कार्यक्रममा उनले आफ्नो पार्टीको विगतको भूमिकाप्रति आत्मसमीक्षा गर्दै किसानका पक्षमा अपेक्षित गतिमा काम हुन नसकेको स्वीकार गरे । साथै, किसान समुदायसँग क्षमायाचना गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले कृषिको आधुनिकीकरण र किसानको जीवनस्तर सुधारका लागि परम्परागत शैलीले मात्र नपुग्ने भन्दै ठोस नीतिगत कदम आवश्यक रहेको पनि बताए ।
कार्यक्रममा स्थानीय किसान, कांग्रेस कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया