काठमाडौं । लुम्बिनी प्रदेशलाई सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्र (IT Hub) का रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ ‘डिजिटल लुम्बिनीः बहुसरोकारवाला परामर्श’ कार्यक्रम सम्पन्न भएको छ ।
क्यान महासंघ लुम्बिनी प्रदेश र रुपन्देही शाखाको आयोजना तथा सीएसआईटी एशोसिएशन अफ नेपाल रुपन्देही च्याप्टरको सहकार्यमा बुटवलस्थित लुम्बिनी सिटी कलेजमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष एवं आईटी लिडर चिरन्जीवी अधिकारीद्वारा तयार पारिएको (Digital Lumbin) अवधारणा पत्र (गुरुयोजना) सार्वजनिक गरिएको छ ।
यस दूरदर्शी योजनाले काठमाडौं–बुटवल डिजिटल कोरिडोर र बुटवल–दाङ–नेपालगन्ज लिंकलाई जोड्ने ‘द्वि–इन्जिन रणनीति’ अघि सारेको छ, जसमा आर्टिफिसियल इन्टेलिजेन्स (AI), पेपरलेस सुशासन, डिजिटल स्वास्थ्य र स्मार्ट शिक्षालाई प्रमुख स्तम्भ मानिएको छ ।
लुम्बिनी सिटी कलेजका कार्यवाहक क्याम्पस प्रमुख नारायण प्रसाद भुसाल र क्यान महासंघ लुम्बिनीका अध्यक्ष नारायण खनालले यो अवधारणा यस क्षेत्रको विकासका लागि कोशेढुङ्गा सावित हुने भन्दै यसको पूर्ण कार्यान्वयनमा ऐक्यबद्धता जनाए ।
परामर्श बैठकमा युवा जनशक्ति पलायन (Brain Drain) रोक्न स्थानीय स्तरमै प्रविधि हब निर्माण, स्टार्टअप कानुन, सीड फन्डिङ र ुमेड इन नेपालु सफ्टवेयर इकोसिस्टम प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिए ।
डिजिटल लुम्बिनीका लागि मुख्य रणनीतिहरु समेत सार्वजनिक गरिएको छ । जसमा सरकारी, निजी, प्राज्ञिक र दातृ निकायको संयुक्त सहकार्य, प्रदेशका संवेदनशील पूर्वाधार र डिजिटल डेटा सुरक्षित गर्न सशक्त मापदण्ड र लुम्बिनीका पर्यटकीय स्थलहरूमा R कोड, AR/VR र डिजिटल बहुभाषिक गाइडको व्यवस्था गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया