काठमाडौं । सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहीन व्यवसायीहरूको समूहले आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै बुधबार माइतीघर मण्डलामा धर्ना दिएको छ ।
धर्नामा सहभागी दृष्टिबिहीनहरूले राज्यले आफूहरूलाई पछाडि पार्दै आएको र जीविकोपार्जनका लागि रहेको सीपसमेत प्रयोग गर्न नदिएको गुनासो गरेका छन् । प्रदर्शनकारी दीपराजले आफूहरूको मुख्य आयस्रोत सांगीतिक कार्यक्रम भए पनि विभिन्न निकायबाट अवरोध र धरपकड हुने गरेको आरोप लगाए ।
उनका अनुसार सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा पशुपति क्षेत्र विकास कोष, काठमाडौं महानगर प्रहरी, बौद्ध विकास कोष तथा नेपाल प्रहरीले हस्तक्षेप गर्ने, धरपकड गर्ने र कुटपिटसमेत गर्ने गरेको छ ।
प्रदर्शनकारीहरूले आफूहरूका लागि सडकपेटी बाध्यता बनेको भन्दै विकल्प नदिई सडकबाट हटाउन खोजिएको बताएका छन् । ‘घाम, पानी, धुवाँ र धुलो सहनु हाम्रो रहर होइन, बाध्यता हो। विकल्प नदिइएसम्म सडकपेटी छोड्दैनौँ,‘उनीहरूको भनाइ थियो।
उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई दृष्टिबिहीन तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन, रोजगारी र सामाजिक सुरक्षाका विषयमा गम्भीर हुन आग्रह गरेका छन् ।
धर्नामा सहभागीहरूले सरकारले मागहरूबारे आश्वासन मात्रै दिने तर कार्यान्वयन नगर्ने गरेको आरोप लगाउँदै गास, बास र कपासको सुनिश्चितता, शिक्षित दृष्टिबिहीनका लागि रोजगारी तथा अशिक्षितका लागि जीवनयापन भत्ताको व्यवस्था गर्न माग गरेका छन् ।
उनीहरूले दृष्टिबिहीन तथा पूर्ण रूपमा अपाङ्गता भएका नागरिकहरूको व्यवस्थापनमा सरकारले विशेष योजना ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
प्रदर्शनकारीहरूले सात दिनसम्म माइतीघरमा धर्ना जारी रहने जानकारी दिँदै सो अवधिमा पनि माग सम्बोधन नभए रिले अनशन सुरु गर्ने चेतावनी दिएका छन् ।
यस क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले दृष्टिबिहीनहरूको समस्याप्रति अपेक्षित रूपमा आवाज नउठाएको आरोपसमेत लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया