जेसीबी उपकरण खरिदका लागि एमएडब्ल्यू अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच सम्झौता

लोकपथ
42
Shares

काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरण खरिदका लागि वित्तीय पहुँच सहज बनाउने उद्देश्यले एमएडब्ल्यू अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा एमएडब्ल्यू अर्थमुभर्सका एफ एन्ड आर प्रमुख सञ्जयदेव यादव र ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवाल ले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार जेसीबी निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकले ग्लोबल आइएमई बैंकका शाखामार्फत विशेष हायर पर्चेज कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लागू हुने ‘लोन टु भ्यालु’ (एलटीभी) अनुपातका आधारमा उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ ।

ग्राहकलाई छिटो सेवा प्रदान गर्ने उद्देश्यले आवश्यक कागजात तथा प्रक्रिया पूरा भएको एक साताभित्र डेलिभरी अर्डर जारी गरिने व्यवस्था गरिएको छ । साथै, यस योजनाअन्तर्गत जेसीबी उपकरण खरिदका लागि अधिकतम पाँच वर्षसम्मको कर्जा अवधि उपलब्ध हुने बताइएको छ ।

दुवै संस्थाले यस सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीलाई उपकरण खरिदका लागि सहज वित्तीय पहुँच प्रदान गर्नुका साथै प्रक्रिया थप छरितो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सहज कर्जा सुविधा र प्रतिस्पर्धी वित्तीय व्यवस्थामार्फत साना तथा मझौला व्यवसायीले समेत आधुनिक जेसीबी उपकरणमा लगानी गरी आफ्नो व्यवसाय विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ ।

जेसीबीका विश्वसनीय उपकरण, एमएडब्ल्यूको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल तथा बैंकको सहज वित्तीय सेवाको संयोजनले ग्राहकलाई उपकरण खरिददेखि सञ्चालन र मर्मतसम्भारसम्म भरपर्दो समाधान प्रदान गर्ने जनाइएको छ ।

एमएडब्ल्यू अर्थमुभर्स र ग्लोबल आइएमई बैंकले ग्राहक सुविधा, व्यावसायिक वृद्धि तथा नेपालको निर्माण एवं पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप ग्राहकमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?