कांग्रेसबाट विजयी भएर रास्वपा प्रवेश गरेका गाउँपालिका अध्यक्षसहित तीन जनप्रतिनिधि पदमुक्त

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेसबाट विजयी भई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका तीन जनप्रतिनिधि पदमुक्त भएका छन् । 

पदमुक्त हुनेमा जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकाल छन् । 

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम उनीहरू पदमुक्त भएको जनाएको छ । त्यसमा दल त्याग गरेको ब्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएपश्चात् आयोगको असार ८ गते सोमबार बसेको बैठकले तीन जना जनप्रतिनिधिलाई पद रिक्त गर्ने निर्णय गरेको थियो । निर्वाचित जनप्रतिनिधिले निर्वाचित भएको दल छोडेमा निजहरू बहाल रहेको पद स्वतः रिक्त हुने कानुनी प्रावधान छ ।

राजनीतिक दल सम्बन्धी ऐनमा दलको सदस्यबाट लिखित रूपमा राजीनामा दिएमा, अर्को दलको सदस्यता लिएमा वा आफैँले वा आफू समेत संलग्न भई अर्को दल गठन गरेमा पदमुक्त हुने व्यवस्था छ ।

निर्वाचन आयोगले माथि उल्लेखित तीन जनप्रतिनिधिका हकमा दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना जारी गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?