को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?

लोकपथ
112
Shares

काठमाडौं । सरकारले देशको समग्र पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पुँजीबजारको नियमन गर्ने संस्थाको प्रमुखमा कैलालीका भट्टलाई नियुक्त गरेको हो ।

‘अपजसे’ नियामक निकायका रुपमा हेरिने सेबोनमा यसअघिको नेतृत्व हेर्दा अधिकांश विवादमा तानिएका देखिन्छन् । नयाँ सरकारले पूराना परम्परा भत्काउने भन्दै धितोपत्र बोर्डको नेतृत्वका लागि दरखास्त आह्वान गरेको थियो । जसअनुसार ४७ जनाको आवेदन परेकामा ४ जना ‘सर्ट लिष्ट’मा परे । जसमा डा. भट्टसहित डा. नवराज अधिकारी, विनयदेव आचार्य र मुकुन्दकुमार क्षेत्री ४७ जनालाई उछिन्दै सर्ट लिष्टमा पर्न सफल भएका थिए ।

धितोपत्र बोर्डको अध्यक्षको नाम सिफारिसका लागि गठित समितिले सिफारिस गरेको नामका आधारमा ४ जना मध्येबाट पनि भट्टको पल्लाभारी भएको हो ।

सुशासनलाई मुख्य नारा बनाएर आएको वर्तमान सरकारको छनोटमा परेका भट्टलाई नेपालको समग्र पुँजीबजार सुधार गर्ने अवसर र यसअघिको नेतृत्वले जस्तै विवाद र आलोचना भोग्नुपर्ने हो की भन्ने चुनौती पनि उत्तिकै छ ।

को हुन् भट्ट ?

लामो समय बैंक तथा वित्तीय क्षेत्रमा बिताएका भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत हुन् । राष्ट्र बैंकमा ३० वर्ष बिताएका भट्ट यसअघि नेपाल एसबीआई बैंकको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकका रुपमा रहेका थिए ।

भट्टले नेपाल राष्ट्र बैंकमा बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, वित्तीय व्यवस्थापन विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, मानव संशाधन व्यवस्थापन विभाग आदी विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।

व्यापार प्रशासनशास्त्रमा स्नातकोत्तर गरेका भट्टले त्रिभुवन विश्वविद्यालयबाट स्टक मार्केट इफिसेन्सी अर्थात् धितोपत्र बजार प्रभावकारिता विषयमा विद्याबारिधी समेत गरेका छन् ।

सेबोनको अध्यक्षको कार्यकाल ४ वर्षको हुने गर्दछ । तर यसअघिका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ विवादपछि राजीनामा दिएसँगै भट्ट नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?