प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न अध्यादेश र विधेयक प्रस्तुत हुने

लोकपथ
154
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

कार्यसूचीअनुसार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सदनमा प्रस्तुत गर्नेछन् ।

बैठकमा सांसद् खडकबहादुर बुढाले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नेछिन् ।

यस्तै, सांसद् नीता घतानीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसपछि अर्थमन्त्री डा. वाग्लेले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।

सांसद् आरेन राईले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी दर्ता गराएको प्रस्ताव पनि निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नेछिन् ।

त्यसैगरी, सांसद् कृपाराम रानाले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?