नेपालमा सम्पन्न भयो ‘२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’

लोकपथ
14
Shares

काठमाडौं । ‘२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’को नेपाल कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं र पोखरामा आयोजना गरिएको चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र, एआई प्रविधि र युवा पुस्ताबीचको सांस्कृतिक सम्बन्धलाई केन्द्रमा राखेर आयोजना गरिएको प्रदर्शनी सम्पन्न भएको हो ।

प्रदर्शनीमा नेपाली विद्यार्थी, प्राध्यापक र फिल्मकर्मीहरूले चिनियाँ चलचित्र तथा वुसिया संस्कृतिबारे जानकारी लिएका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा चलचित्र प्रदर्शन, छलफल, व्याख्यान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

काठमाडौंमा ‘लेजेन्ड्स अफ द कन्डोर हिरोजः द ग्यालेन्ट्स’ र ‘ब्लेड्स अफ द गार्डियन्सः विन्ड राइजेस इन द डेजर्ट’ चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्र प्रदर्शनपछि भएको छलफलमा चिनियाँ युवा लेखक वेन जियरले चिनियाँ साहित्य, वुसिया कथाका विषयवस्तु र चलचित्रमा यसको प्रयोगबारे जानकारी दिएका थिए ।

सहभागीहरूले चिनियाँ वुसिया चलचित्रमा देखाइने न्याय, साहस र मानवीय मूल्यहरू नेपाली कला र संस्कृतिसँग पनि मिल्ने धारणा राखेका थिए ।

बेइजिङ नर्मल विश्वविद्यालयका प्राध्यापक झाङ यानले चिनियाँ मार्सल आर्ट चलचित्रको विकास र विश्वव्यापी प्रभावबारे प्रस्तुति दिएका थिए ।

प्रदर्शनीको दोस्रो चरण पोखरा विश्वविद्यालयमा आयोजना गरिएको थियो । त्यहाँ एआई प्रविधिले चलचित्र निर्माण, सम्पादन, वितरण र बजारमा ल्याएको परिवर्तनबारे छलफल गरिएको थियो ।

पोखरामा ‘द मास्टर’ र ‘आई एम ह्वाट आई एम–२’ चलचित्र प्रदर्शन गरिएको थियो । यी चलचित्रले चिनियाँ मार्सल आर्ट संस्कृति, युवाको सपना र संघर्षको कथा प्रस्तुत गरेका थिए ।

चलचित्र प्रदर्शनपछि ‘द मास्टर’का निर्देशक स्यु हाओफेङ र ‘आई एम ह्वाट आई एम–२’का सहनिर्माता ली यिलिनले भर्चुअल माध्यमबाट दर्शकसँग संवाद गरेका थिए । उनीहरूले चिनियाँ चलचित्रको अन्तर्राष्ट्रिय सम्भावना र एनिमेसन क्षेत्रबारे आफ्ना धारणा राखेका थिए ।

प्रदर्शनीसँगै ‘वुसिया फेयर’ र हस्तकला कार्यशाला पनि आयोजना गरिएको थियो । यसले सहभागीलाई चिनियाँ र नेपाली संस्कृतिबीचको समानता बुझ्ने अवसर दिएको थियो ।

कार्यक्रममा एआई प्रविधिबाट तयार गरिएको प्रदर्शनीको आधिकारिक गीत ‘द एन्डलेस राइड’ पनि सार्वजनिक गरिएको थियो ।

आयोजकले हिमालयन रिम फिल्म प्रदर्शनी चलचित्र प्रदर्शनमा मात्र सीमित नभई नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान तथा युवा सिर्जनशीलताको साझा मञ्च बनेको बताएका छन् ।

प्रदर्शनीले दुवै देशका फिल्मकर्मी, विद्यार्थी र युवा सर्जकबीच आगामी दिनमा सहकार्यको सम्भावना बढाएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?