‘सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा धेरै मेहनत र लगानी बढाउनुपर्ने हुन्छ’

लोकपथ
21
Shares

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा पर्याप्त मेहनत र लगानी गर्नुपर्ने बताएका छन् ।

मंगलबार बसेको संघीय संसद् प्रतिनिधि सभा बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकहरूमाथिको समूहगत छलफलमा भाग लिँदै सांसद बरालले विज्ञान र प्रविधिको विकासबिना मुलुकको समग्र प्रगति सम्भव नहुने बताएका हुन् ।

उनले चीन, भारत, जापानलगायत एसियाली मुलुकहरूले विज्ञान र प्रविधिमा गरेको लगानीकै कारण आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको बताए ।

‘विज्ञान र प्रविधिको क्षेत्रमा लगानी गर्ने राष्ट्रहरूले आर्थिक उन्नति, सामाजिक उन्नति र पूर्वाधार विकासमा अत्यन्तै धेरै प्रगति गरेका छन्,‘उनले भने, ‘चीन, जापान, भारत, थाइल्याण्ड, इन्डोनेसिया र दक्षिण कोरियाले विज्ञान र प्रविधिमा लगानी गरेर संसारलाई चकित पार्ने आर्थिक प्रगति हासिल गरेका छन् ।’

सांसद बरालले विज्ञान र प्रविधि सबै ज्ञानको आधार भएकाले यस क्षेत्रमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए ।

उनले विज्ञान र प्रविधिको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि पनि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?