काठमाडौं । नेपालको वित्तीय इतिहासमा यो अहिलेसम्मकै ठूलो बीमा कोष अपचलन प्रकरण हो । जहाँ सर्वसाधारण बीमितले जम्मा गरेको प्रिमियम रकम मात्र होइन, बीमा कम्पनीहरूको संस्थागत पुँजीसमेत एक समूहको व्यक्तिगत शेयर पोर्टफोलियो बनाइदिन प्रयोग भयो । यसको नेतृत्वमा छन् विवादित व्यवसायी दीपक भट्ट । करिब चार दर्जन व्यवसायी, बैंकर, बीमा कम्पनीका पदाधिकारी र नियामक निकायका तत्कालीन शीर्ष अधिकारीहरूसमेत यो काण्डमा मुछिएका छन् ।
काठमाडौं जिल्ला अदालतमा २०८३ जेठ २८ गते पेस गरिएको १७० पृष्ठको अभियोगपत्रले नेपालको वित्तीय नियमनको कमजोरी मात्र होइन, नियामक निकाय नै कसरी कसुरको माध्यम बन्न पुग्यो भन्ने पनि देखाएको छ । बीमा प्राधिकरणको अस्थायी स्थलगत निरीक्षण प्रतिवेदन, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको गहिरो छानबिन र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अन्तर्राष्ट्रियस्तरको डिजिटल फरेन्सिकपछि यो तथ्य खुल्न पुगेको हो ।
दीपक भट्ट : छलछामको ‘मास्टर माइन्ड’देखि ‘प्रत्यक्ष लाभग्राही’सम्म
सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रअनुसार दीपक भट्ट प्रमुख लगानीकर्ता र सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्स प्रालि मार्फत हिमालयन रि–इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलगायत दर्जन बढी बीमा कम्पनीहरूमा भट्ट र उनको परिवार तथा सहयोगीको अधिकतम शेयर स्वामित्व छ । यही पहुँचको दुरुपयोग गरेर उनले बीमा कम्पनीको बीमित, बचतकर्ता र सर्वसाधारण शेयरधनीको रकम आफ्नो व्यक्तिगत नामँमा शेयर खरिद गर्न प्रयोग गरे । वास्तवमा पब्लिक कम्पनीको शेयर खरिद गर्न मात्रै प्रयोग गरेनन्, उनले शेयर कर्नरिङ गरी अस्थायीरुपमा शेयरको मूल्य उचाल्न र नाफा आएपछि बिक्री गर्न प्रयोग गरे । उनीहरूले यतिसम्म गरे कि हिमालय रि–इन्सुरेन्स कम्पनीकै पैसा प्रयोग गरेर विभिन्न कम्पनीको शेयर व्यक्तिका नाममा खरिद गरियो र नाफा कमाएपछि त्यही शेयर महँगो मूल्यमा हिमालय रि–इन्सुरेन्स कम्पनीलाई नै भिराइयो । यसबाट उनीहरूले करोडौँ रकम नाफा कमाउँदा सर्वसाधारणको समेत लगानी रहेको हिमालयन रि–इन्सुरेन्स कम्पनीलाई भने घाटामा लगियो ।

यो अपराधको केन्द्रमा विवादित व्यवसायी दीपक भट्ट र जगदम्बा ग्रुपका लगानीकर्ता सुलभ अग्रवाल देखिएका छन् । यसमा साथ दिनेहरूमा राजबहादुर शाह, सुभी अग्रवाल, भृकुटी स्टक ब्रोकिङ कम्पनी र यसका सञ्चालक सन्दीप चाचन अग्रवालसमेतका व्यक्तिहरूको प्रत्यक्ष संलग्नता देखिएको छ । यद्यपि यो अपराधको योजना बनाउनेदेखि कार्यान्वयनमा लैजाने ‘ड्राइभिङ फोर्स’मा दीपक भट्ट र सुलभ अग्रवाल नै थिए भने लाभसमेत उनीहरूले नै लिएको पाइएको छ ।
यो आर्थिक अपराधको मुख्य माध्यम भने ब्रोकर नम्बर ५५ अर्थात् भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालि नै रहेको पाइएको छ । र, यो अपराधको ढाकछोप गर्ने, माहौल बनाउने कार्यमा ब्रोकर नम्बर ५५ को प्रत्यक्ष संलग्नता पाइएको छ । यो ब्रोकर कम्पनी नै सम्पूर्ण हिनामिनाको केन्द्रीय पाइपलाइन रहेको अभियोगपत्रमा उल्लेख छ । किनभने यस ब्रोकर कम्पनीले बिना धरौटी वा नगद कोल्याटरल बिना नै दीपक भट्ट, सुभी अग्रवाल, राजबहादुर शाहलगायतका व्यक्तिका नाममा शेयर खरिद गरी त्यसको भुक्तानी हिमालयन रि–इन्स्योरेन्स कम्पनीले दिएको पेस्की रकमबाट झुानी गरिएको छ ।
यस्तो छ आर्थिक अपचलनको पाँच चरणको मोडस अपरेन्डी
काठमाडौं जिल्ला अदालतमा बिहीबार दर्ता गरिएको अभियोगपत्रले यो अपराधको जालो कसरी बुनियो भन्ने कुरालाई स्पष्टसँग उल्लेख गरेको छ ।
पहिलो, अग्रिम पेमेन्टको छल :
बीमा कम्पनीहरू (हिमालयन रि–इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स) ले ब्रोकर नम्बर ५५ लाई ‘शेयर किन्न’ भन्दै ठूलो रकम पेस्कीका रूपमा दिने गरेको देखिएको छ । तर पेस्कीका रूपमा गएको उक्त रकमबाट सम्बन्धित कम्पनीका नाममा शेयर खरिद गरिँदैनथ्यो । उक्त रकम नै प्रयोग गरेर दीपक भट्ट, शुभी अग्रवाल, ऋषिराज मोर, राजबहादुर शाह र हिमालयन इन्भेस्टमेन्ट बैंकरको व्यक्तिगत डिम्याट खातामा शेयर खरिद गरिन्थ्यो । उक्त रकमको सेटलमेन्ट भने ब्रोकर कम्पनीले पेस्की दिइएका कम्पनीको रकमबाट भुक्तानी गरेर हुन्थ्यो ।
दोस्रो, कृत्रिम कोल्याटरल :
दीपक भट्टको टीएमएस खातामा वास्तविक रकम नै नहुँदा ब्रोकरले ‘गैर–नगद कोल्याटरल’ को नाउँमा ५० करोड रुपैयाँसम्मको रकम पटक–पटक लोड गरेर शेयर खरिदका लागि सहजीकरण गरिदिएको थियो । दीपक भट्टको टीएमएस आईडी २०२५०१४३०२६ मा करिब १ सय ५० पटक ५० करोड रुपैयाँको ‘नन-क्यास कोल्याटरल’ देखाइएको थियो, जुन पूर्णतः काल्पनिक र कानुनविपरीतको कार्य थियो ।
तेस्रो, बीमा कम्पनीको रकम सिधा व्यक्तिमा
व्यवसायी दीपक भट्टले आफू सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्सको लगानी रहेको हिमालयन रि–इन्स्योरेन्सबाट मात्र विभिन्न मितिमा ८४ करोड ५० लाख रुपैयाँ सिधै आफ्नो नाउँमा शेयर खरिद गर्न प्रयोग गरेका थिए । भृकुटी ब्रोकर कम्पनीले नियामकीय निकायलाई दिएको चलानी नम्बर ६३१, मिति २०८२।१२।१६ को पत्रबाट हिमालयन रि-इन्स्योरेन्सले दिएको २ अर्ब ७३ करोड रुपैयाँको अग्रिम रकम दीपक भट्टको आईडीबाट शेयर खरिदका लागि प्रयोग भएको उल्लेख गरेको छ ।
चौथो, ‘ट्रेड टु ट्रेड’ सेटलमेन्टको दुरुपयोग :
ब्रोकरले धितोपत्र कारोबार नियमावली, २०७५ को नियम ८ (२) को घोर उल्लंघन गरी कुनै अग्रिम रकम नलिईकनै दीपक भट्टको नाउँमा शेयर खरिद गरिदिएको थियो । यद्यपि यो शेयर कारोबार कसले गरेको भन्ने सम्बन्धमा व्यवसायी दीपक भट्टले ब्रोकर कम्पनीमाथि आरोप लगाएका छन् भने ब्रोकर कम्पनीले दीपक भट्टलाई नै जानकारी होला भनेका छन् । तर यसको आईपी एड्रेस भने सुलभ अग्रवालको लगानी रहेको कम्पनीहरूबाट भएको देखिएको छ । उक्त शेयर खरिद हुँदा हिमालय रि–इन्सुरेन्सको पेस्की रकम प्रयोग भएपनि उक्त शेयरहरू बिक्री हुँदा भने हिमालयन रि वा अन्य बीमकको खातामा जम्मा नगरी ब्रोकर आफैँले रोकेर अन्य कारोबारमा प्रयोग गरेको पाइएको छ ।
पाँचौँ, आफ्नै समूहको शेयर बेचेर फेरि खरिद
दीपक भट्ट र सुलभ अग्रवालको समूहले हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स र तिनका सहायक कम्पनी (हिमालयन क्यापसर्भ, हिमालयन सेक्युरिटिज बैंकर) को नाउँमा भएको शेयर बिक्री गरेर आएको रकम पनि सम्बन्धित बीमकलाई फिर्ता नगरी त्यही रकमबाट आफ्नो निजी नाउँमा थप शेयर किनेको अनुसन्धानबाट पुष्टि भएको छ ।
नेपाल रि-इन्स्योरेन्स कम्पनी (NRIC) कसरी बन्यो ‘टार्गेट’ ?
यो सम्पूर्ण अपचलनको केन्द्रमा थियो नेपाल रि-इन्स्योरेन्स कम्पनी लिमिटेड अर्थात् एनआरआईसी । दीपक भट्ट र सुलभ अग्रवालको समूहले विभिन्न बीमकको रकम ब्रोकर नम्बर ५५ मा पुराएर एनआरआईसीको शेयर ‘कर्नरिङ’ गर्ने योजना बनाएका थिए । मतलब बजारमा एनआरआईसीको शेयरको आपूर्ति कृत्रिम रूपमा सीमित बनाएर उच्च माग देखाएर मूल्य बढाउने नै उद्देश्य थियो ।
हिमालयन लाइफ इन्स्योरेन्स एक्लैले एनआरआईसीको शेयर खरिदमा कुल बजारमा भएको खरिद कित्ताको ४४ दशमलव २८ प्रतिशत र कुल खरिद मूल्यको ४० दशमलव शून्य आठ प्रतिशत ओगटेको थियो । यसरी एकै कम्पनीले बजारको आधा हिस्सा नियन्त्रण गर्दा मूल्यमा अस्वाभाविक उछाल आएको अनुसन्धानबाट खुलेको थियो । आर्थिक वर्ष २०८१।०८२ मा हिमालयन लाइफले मात्र एनआरआईसीमा गरेको लगानी आफ्नो कुल धितोपत्र लगानीको ४० प्रतिशत पुगेको थियो, जुन नियामकले तोकेको १० प्रतिशतको सीमाभन्दा धेरै गुणा बढी थियो ।
कति भयो बिगो कायम ?
सम्पूर्ण अपचलनमा विभिन्न प्रतिवादीविरुद्ध कायम बिगो यसप्रकार छः
- दीपक भट्टविरुद्ध २,८९,२०,४८,८३९.४५ (दुई अर्ब ८९ करोड २० लाख ४८ हजार ८ सय ३९ रुपैयाँ ४५ पैसा) बिगो कायम गरिएको छ । यो रकम उनले आफ्नो नाममा शेयर खरिद गर्न हिमालयन रि–इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्सलगायतका बीमा कम्पनीको रकम दुरुपयोग गरेको पुष्टि भयो ।
- सुलभ अग्रवालविरुद्ध ३,७३,८५,२४,२२७.८३ (तीन अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ ८३ पैसा) बिगो कायम गरिएको छ । उनको लगानी रहेको कम्पनीकै आईपी एड्रेसबाट यी कारोबार भएको पाइएको थियो ।
- सन्दीप चाचान अग्रवालविरुद्ध पनि ३,७३,८५,२४,२२७.८३ (तीन अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ ८३ पैसा) बिगो कायम गरिएको छ । उनी ब्रोकर कम्पनीका मालिक भएको र एक कम्पनीको पेस्की रकम अन्य कम्पनीको शेयर खरिदमा प्रयोग गर्न दिई अपचलन गराएका थिए ।
- शुभी अग्रवाल (सुलभ अग्रवालकी पत्नी) विरुद्ध ६२,८९,५६,३७१.७० (६२ करोड ८९ लाख ५६ हजार ३७१ रुपैयाँ ७० पैसा बिगो कायम गरिएको छ । उनले हिमालयन रिको पेस्की रकम प्रयोग गरी शेयर खरिद गरिएकाले बिगो कायम गरिएको हो ।
- ऋषिराज मोर (प्रोटेक्टिभ माइक्रो लाइफ इन्सुरेन्स कम्पनीका अध्यक्ष) विरुद्ध २३,०१,३१,९०२.७० (२३ करोड १ लाख ३१ हजननार ९०२ रुपैयाँ ७० पैसा) बिगो कायम गरिएको छ ।
- राजबहादुर शाहविरुद्ध ८९,७०,९७,३४६.७१ (८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा) बिगो कायम गरिएको छ ।
- शेखर गोल्छा (हिमालयन रि-इन्स्योरेन्सका पूर्वअध्यक्ष) विरुद्ध २,७३,३३,१५,१६०.०३ (दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ ३ पैसा) बिगो कायम गरिएको छ । उनले आफू अध्यक्ष रहेको कम्पनीको रकम हिनामिना हुँदा पनि प्रतिवादीहरूलाई सहयोग गरेको आरोप लागेको छ ।
- आशिष श्रेष्ठ (नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष) विरुद्ध १६,१७,५२,८७३.८८ (१६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ ८८ पैसा) बिगो कायम गरिएको छ । उनले पनि आफू अध्यक्ष रहेको कम्पनीको रकम हिनामिनामा मुख्य अभियुक्तहरूलाई साथ दिएको आरोप लागेको छ ।
यीबाहेक हिमालयन सेक्युरिटिज बैंकर, हिमालयन क्यापसर्भ, एचएलआई लार्ज क्याप फन्ड, हिमालयन इन्भेस्टमेन्ट बैंकरलगायतका सहायक कम्पनीका दर्जनौँ पदाधिकारी, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरूलाई पनि प्रतिवादी बनाइएको छ । यसमा हिमालयन रि–इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलसहित सञ्चालक तथा कर्मचारीहरू मृगेन्द्र रिमाल, दीपककुमार श्रेष्ठ, कपिल दाहाल, राजनप्रसाद अधिकारी, सुमेरशमशेर जबरा, सालिनी संघाई, प्रतीक जोशी, सुभाष पौडेललाई प्रतिवादी बनाइएको छ ।
दीपक भट्टलाई साथ दिने संगठित समूह : ‘द इनर सर्कल’
यो शेयर कर्नरिङ र वित्तीय अपराध एकल प्रयासमा मात्रै भएको थिएन । यसमा विभिन्न व्यक्ति तथा कम्पनीको संलग्नता स्स्पष्टरुपमा देखिएको छ । यद्यपि यसका मुख्य डिजाइनर रहेका दीपक भट्टको ‘भित्री समूह’ अर्थात् ‘इनर सर्कल’ मा निम्न व्यक्ति र संस्था जोडिएको पाइएको छ ः
१. सुलभ अग्रवाल :
उनी हिमालयन लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष हुन् । उनी नै यो सम्पूर्ण अपचलनको ‘आर्किटेक्ट’ समेत रहेको आरोप लागेको छ । उनैले आफ्नो कम्पनी सौर्य सिमेन्ट र जगदम्बा स्टिल्सको कार्यालयबाट हिमालयन रि–इन्स्योरेन्स, हिमालयन लाइफ, नेपाल माइक्रो, क्रेष्ट माइक्रो, प्रोटेक्टिभ माइक्रो, लिबर्टी माइक्रोलगायत १० भन्दा बढी बीमा कम्पनीको टीएमएस खाता सञ्चालन गरेको प्राविधिक परीक्षणबाट पुष्टि भइसकेको छ । सबैको युजरनेम र पासवर्ड सुलभकै समूहका सदस्यहरूले प्रयोग गर्ने गरेको पाइएको छ ।
२. सन्दीप चाचान अग्रवाल :
ब्रोकर नम्बर ५५ अर्थात् भृकुटी स्टक ब्रोकिङ कम्पनीका अध्यक्ष हुन् यिनी । उनले बिना अग्रिम रकम, बिना कोल्याटरल अनि बिना सम्बन्धित बीमकको सहमतिमा शेयर खरिद–बिक्री गरिदिएका थिए । उनकै कम्पनीले गैरकानुनीरूपमा दीपक भट्टको खातामा पटक पटक ५० करोड रुपैयाँको काल्पनिक कोल्याटरल लोड गरेर शेयर खरिदको क्षमता बढाइदिएको थियो ।
३. शेखर गोल्छा :
हिमालयन रि-इन्स्योरेन्सका पूर्वअध्यक्ष हुन् उनी । उनी अध्यक्ष रहेकै अवस्थामा आफ्नै संस्थाको २ अर्ब ७२ करोड रुपैयाँ ब्रोकरमा अड्किएको थियो । तर उनले सञ्चालक समितिको बैठकमा सबै लगानी समितिका निर्णयलाई ‘एकमुष्ट अनुमोदन’ गरिदिएर यो अपराधमा साथ दिएका थिए । यद्यपि गोल्छाले भने उक्त बैठकपछि मात्र लगानी समितिले कानुनविपरीत लगानी गरेको रकम उठ्न बाँकी रहेको आफूले जानकारी पाएको र गडबड भएको थाहा पाएपछि पदबाट राजीनामा दिएको बयान दिएका छन् । तर प्रमाणले भने उनको भूमिका केवल अन्जानमा मात्रै नरहेको देखाएको छ ।
४. आशिष श्रेष्ठ :
उनी नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष हुन् । उनकै कम्पनीले १६ करोड १७ लाख रुपैयाँ ब्रोकर कम्पनीमा पठाएका थिए । तर उक्त रकम ब्रोकर कम्पनीमा अड्किएर कम्पनीको नाममा शेयर खरिद नहुँदा पनि पछि लगानी समितिलाई पूरै अख्तियारी दिएका थिए ।
५. हिमालयन इन्भेस्टमेन्ट बैंकर र एचएलआई लार्ज क्याप फन्ड :
यिनीहरू हिमालयन लाइफकै सहायक कम्पनी र कोष हुन् । यी कम्पनीहरूको २५ करोड रुपैयाँभन्दा बढी रकम ब्रोकर कम्पनीमा पेस्कीका रूपमा पठाइएको थियो । यसका सञ्चालक कपिल दाहाल, राजन अधिकारी, विदुर पुरी, बिनु घिमिरे, नारायण अधिकारी, उत्सव प्रधानांगलगायतले समूहको लगानी नीतिविपरीत दीपक भट्टहरूको हितमा काम गरेको पाइएको छ ।
नियामकको भूमिका : कसरी दीपक भट्टको योजनालाई बल मिल्यो ?
यो प्रकरणमा सबैभन्दा खराब पक्ष त यस्तो छ कि बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाल र शरद ओझाको समेत संलग्नता र सहयोग पाइएको छ । उनीहरूविरुद्ध बीमा ऐनको दफा १४० (झ) अन्तर्गत कसुर गरेको (अर्थात् कसुर गर्न उद्योग गरेको वा त्यस्तो कसुर हुने दिशामा ढोका खोलिदिएको) आरोप छ ।
के हो प्राधिकरणका पूर्वअध्यक्षहरू मदन दाहाल र शरद ओझाले गरेको कसुर ?
यो आर्थिक अपराधको प्रकरणमा उनीहरूको पालामा हिमालयन लाइफ इन्स्योरेन्सलाई पटक–पटक एउटै कम्पनी अर्थात् नेपाल रि–इन्स्योरेन्स कम्पनीको शेयरमा लगानीको सीमा नाघ्ने गरी स्वीकृति प्रदान गरिएको थियो । जबकि, कुनै पनि पब्लिक कम्पनीको शेयरमा १० प्रतिशतभन्दा बढी लगानी गर्नुपूर्व विशेष स्वीकृति चाहिने हुन्थ्यो ।
एक्कासि लगानीको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याइदियो । जसले गर्दा हिमालयन लाइफले एनआरआईसीमा अर्बौंको थप लगानी गर्न पाएको थियो ।
प्राधिकरणले २०८१।०९।२३, २०८१।११।०१ र २०८२।०३।२२ मा भएका निर्णयहरूका कारण हिमालयन लाइफ एक्लैले एनआरआईसीको ठूलो परिमाणको शेयर खरिद गर्न सफल भयो । यी निर्णयहरू बीमा प्राधिकरणको पूर्ण जानकारीमा समेत नरहेको पाइएको छ ।
अनुसन्धानले प्राधिकरणका यी निर्णयहरू वस्तुनिष्ठ र पारदर्शी नभई सीमित व्यक्तिको हितमा केन्द्रित रहेको र नियामकीय शक्तिको दुरुपयोग गरेको देखाएको छ । सोही आधारमा उनीहरूमाथि पनि अभियोगपत्र दायर भएको हो ।
यसरी दीपक भट्ट र सुलभ अग्रवालको समूहले ‘रेगुलेटरी क्याप्चर’ अर्थात् (नियामक निकायलाई नै आफ्नो नियन्त्रणमा लिने) काम गरेर शेयर कर्नरिङ र पब्लिक कम्पनीको रकम दुरुपयोग गरेको अभियोगपत्रमा उल्लेख छ । जसले गर्दा सर्वसाधारणको रकम कसरी केही व्यक्तिको पोर्टफोलियो बन्यो भन्ने कुराको प्रमुख कारण नियामकको भूमिका पनि एक कारण रहेको अभियोगपत्रमा उल्लेख छ ।
आईपी एड्रेस र डिजिटल फुटप्रिन्टले खोल्यो वित्तीय अपराधको पोल
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को डिजिटल फरेन्सिकले यस षड्यन्त्रको मुख्य प्रमाण दिएको छ, आईपी एड्रेस । अनुसन्धानले देखाएको छ कि हिमालयन रि–इन्स्योरेन्स, हिमालयन लाइफ, नेपाल माइक्रो, गार्डियन माइक्रो, क्रेष्ट माइक्रो, प्रोटेक्टिभ माइक्रो, हिमालयन क्यापसर्भ, हिमालयन सेक्युरिटिज बैंकर र एचएलआई लार्ज क्याप फन्डलगायतका सबै संस्थाको टीएमएस खाता नक्सालमा कार्यालय रहेको सौर्य सिमेन्ट जगदम्बा स्टिल्सको सिमरास्थित कार्यालयबाट चलेको थियो, जसको सञ्चालकहरूमा सुलभ अग्रवाल र साहिल अग्रवाल रहेका थिए ।
सौर्य सिमेन्टको आईपी एड्रेस २०२.१६६.२०६.२४२ र जगदम्बा स्टिल्सको आईपी एड्रेस १०३.२३५.१९८.५७ बाट सबै कारोबार भएको अनुसन्धानले देखाएको छ ।
ती कम्पनीका कर्मचारी मात्र होइनन्, दीपक भट्ट, शुभी अग्रवाल, सुलभ अग्रवाल र अन्य व्यक्तिको शेयर कारोबारका लागि प्रयोग हुने टीएमएस खाता पनि त्यहीँबाट भएको थियो । सोही आधारमा अभियोगपत्रमा भनिएको छ, ‘यी सबै संस्थाको शेयर खरिद(बिक्रीको निर्णय ती कम्पनीको आफ्नो लगानी क्षमताको आधारमा नभई दीपक भट्ट र सुलभ अग्रवालको योजना र चाहनाबमोजिम गरिएको हो ।’
यसबाहेक, दीपक भट्टको मोबाइल नम्बर ९८५११९८८०८ मा ब्रोकरबाट सन् २०२५ अक्टोबर-नोभेम्बरमा लगातार एसएमएस आएको थियो, जसमा ‘तपाईंको शेयर खरिद भयो’, ‘भुक्तानी गर्न बाँकी’ आदि उल्लेख थिए । दीपक भट्टले पटक-पटक त्यसबारे ब्रोकरलाई सोधपुछ गरेकोसमेत पुष्टि भएको छ । यद्यपि भट्टले आफ्नो बयानमा भने टीएमएस खाता खोलेको हो, तर कारोबारबारे जानकारी छैन भन्ने झूटो बयान दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया