काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यशैलीबारे प्रश्न गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका केसीले प्रधानमन्त्रीको संसदमा अनुपस्थिति र मौनता उनको रुचि वा व्यक्तिगत लहडको विषय नरहेको स्पष्ट पारे ।
यसैगरी प्रश्न गर्ने नागरिकको अधिकार र संसदमा प्रश्न गर्नु सांसदहरुको विशेषाधिकार भए पनि सत्तापक्षबाट धम्कीको भाषा बोलिनु संसदीय मूल्य मान्यता विपरित रहेको बताए । बिहीबारको प्रतिनिधि सभा बैठकमा आफूमाथि प्रश्न गर्ने सांसदहरुमाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलका सांसदहरुलाई फाइल खोल्ने भन्दै धम्की दिएका थिए ।
‘प्रधानमन्त्रीको संसद् अनुपस्थिति र मौनता उहाँको रुचि या व्यक्तिगत लहडको विषय होइन। प्रश्न गर्ने नागरिक अधिकार हो भने संसद्मा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादा माथिको अपमान हो । संसद्मा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन। यो त तर्क, बहस, नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौँ,’ केसीले भने ।
राष्ट्रियताको विषयमा संसदमा कुरा उठ्दा समेत निरन्तर प्रधानमन्त्री संसदमा अनुपस्थित हुनु र वारेसमार्फत् जानकारी गराइनु आपत्तिजनक रहेको बताए ।
‘उहाँको दायित्व वारेस मार्फत गराइनु संसद्प्रतिको घोर अपमान र खेदजनक हो। शक्ति सन्तुलन, नियन्त्रणका प्रक्रियाहरू एक अर्को गरेर भङ्ग हुँदै गएका छन्। केन्द्रिकरण तथा स्थापित संसदीय अभ्यास र संस्थागत गरिमालाई कुण्ठित पार्नु अस्थिरता र निरंकुशताको प्रवृत्ति हो,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया