राशनमा बदमासीपछि सशस्त्रको सल्यान र जाजरकोटका गुल्मपतिलाई फिर्ता बोलाइयो, नेचुङका तत्कालीन इन्सपेक्टरमाथि पनि छानबिन

लोकपथ
0
Shares

काठमाडौं । अत्यधिक मात्रामा कर्मचारीहरू बिदामा छाडेर राशनमा बदमासी गरेको पुष्टि भएपछि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सल्यान गुल्म र जाजरकोट गुल्मका गुल्मपतिहरुलाई कमान्डबाट फिर्ता बोलाएको छ । 

केही दिनअगाडि ती दुई गुल्मका गुल्मपति डीएसपीहरुले गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू अत्यधिक मात्रामा बिदा छाडेको भन्ने उजुरी सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा परेपछि प्रधान कार्यालयबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको कमान्डमा छानबिन टोली त्यस ठाउँमा खटिएको थियो । सोही छानबिन टोलीको प्रतिवेदनको आधारमा उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित कानुन निर्देशनालयमा हाजिर गराइएको थियो । उनीहरूलाई कानुन निर्देशनालयले विभागीय कारबाही गरेको छ । 

फिर्ता बोलाइएका ती दुई गुल्मपतिहरुको ठाउँमा तत्कालै नयाँ कमान्डर खटाइने भएको छ । 

यसैबीच, केही दिनअघि मुस्ताङको कोरला नाकाबाट अवैध रूपमा २ वटा ट्रकमा भित्रिएको भेपको विषयमा सुरक्षा कमजोरी देखिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङका तत्कालीन कमान्डर सशस्त्र प्रहरी निरीक्षकमाथि पनि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?