पोखरामा फोहोर विसर्जनस्थलमा भेटियो ३ वटा ग्रिनेड बम

लोकपथ
77
Shares

काठमाडौं । पोखरा महानगरपालिका–२१ स्थित फोहोर विसर्जनस्थलमा बिहीबार बिहान तीनवटा ग्रिनेड बम फेला परेका छन् ।

महानगरका विभिन्न क्षेत्रबाट संकलन गरी ल्याइएको फोहोरमा कवाडी वस्तु संकलन गर्ने क्रममा रिमा शेर्पाले उक्त बम फेला पारेकी हुन् ।

पोखरा–१७ स्थित रातोपैह्रा र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आसपासका क्षेत्रबाट फोहोर संकलन गरी ल्याएको महानगरपालिकाको ग १ ख ५४३७ नम्बरको गाडीले खसालेको फोहोरमा ती बम भेटिएका थिए ।

संकलनकर्ता शेर्पाले बोराभित्र रहेका शंकास्पद वस्तुलाई चलाउन खोज्दा त्यहाँ कार्यरत एस्काभेटर चालकले देखेर तत्काल सुरक्षित राख्न लगाएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामको टोलीले घटनास्थल पुगेर उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

फेला परेका ग्रिनेडहरूलाई निष्क्रिय पार्न नेपाली सेनालाई खबर गरिएको प्रहरीले जनाएको छ । फोहोरको थुप्रोमा विष्फोटक पदार्थ कसरी आइपुग्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?