जातीय विभेद अन्त्यका लागि कानुन मात्र पर्याप्त छैन : राष्ट्रपति पौडेल

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछुतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव नहुने बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले समाजका सबै तह र वर्गमा चेतना, सहिष्णुता तथा पारस्परिक सम्मानको भावना विकास हुनु अपरिहार्य रहेकोमा जोड दिएका हुन् ।

उनले दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन गर्दै विभेदरहित, समावेशी र सभ्य समाज निर्माणप्रति सबैलाई थप प्रतिबद्ध बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गरेको उल्लेख गर्दै विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको बताए ।

उनले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैंगिकलगायत सबै प्रकारका विभेदको अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न संविधानले समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तमा आधारित समतामूलक समाज निर्माणको संकल्प गरेको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसले विविधताभित्रको एकतालाई थप सुदृढ गर्दै समतामूलक, सभ्य र समावेशी समाज निर्माणका लागि सबै नेपालीलाई एकजुट हुन पुनः स्मरण गराएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?