‘अर्ली वार्निङ फर अल’ मार्गचित्र स्वीकृत भइसक्यो : गृह मन्त्रालय

लोकपथ
84
Shares

काठमाडौं । जलवायु परिवर्तनका कारण नेपालमा तापलहर (लू) को जोखिम बढ्दै गएको भन्दै सरोकारवालाहरूले प्रभावकारी पूर्वसूचना प्रणाली र ‘हिट एक्शन प्लान’ को सुदृढ कार्यान्वयनमा जोड दिएका छन् ।

‘हिट एक्शन डे’ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा वक्ताहरूले तातो हावाको जोखिम न्यूनीकरणका लागि सरकार, विकास साझेदार संस्था र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी का महासचिव मीनबहादुर मल्ल ले तराईका अधिकांश जिल्ला तापलहरको उच्च जोखिममा रहेको बताए ।

उनले अमेरिकी रेडक्रसको सहयोगमा बाँके र रुपन्देहीमा समुदायलाई लूबाट जोगिने उपायबारे सचेतना र तयारी अभियान सञ्चालन भइरहेको जानकारी दिए । तराईका अन्य जिल्लामा समेत यस्ता कार्यक्रम विस्तार गर्न सरकारको रणनीतिक सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

त्यसैगरी जल तथा मौसम विज्ञान विभाग की महानिर्देशक डा.अर्चना श्रेष्ठले पछिल्ला वर्षहरूमा तापक्रम वृद्धिले नयाँ रेकर्ड कायम गरिरहेको बताइन् । उनका अनुसार सन् २००० यता ४० भन्दा बढी मौसम मापन केन्द्रमा तापक्रमका पुराना रेकर्ड तोडिएका छन् । विभागले तापीय अवस्थाको निगरानी, पूर्वानुमान प्रणाली सुदृढीकरण तथा तापलहरसम्बन्धी प्रभावमा आधारित पूर्वानुमान जारी गर्ने कार्यलाई अगाडि बढाइरहेको उनले जानकारी दिइन् ।

नेपाल विपद् पूर्वतयारी सञ्जाल का अध्यक्ष बसन्तराज अधिकारीले स्थानीय स्तरमा तापक्रम, आर्द्रता तथा अन्य तथ्यांकको नियमित संकलन र विश्लेषण आवश्यक रहेको बताए । उनले स्थानीय प्रविधि र सेन्सर विकाससँगै कृत्रिम बुद्धिमत्ता तथा मेसिन लर्निङको प्रयोगमार्फत तापलहरका प्रभावबारे थप अध्ययन गर्नुपर्ने धारणा राखे ।

यस्तै, सुरेश पन्थी ले ‘अर्ली वार्निङ फर अल’ सम्बन्धी राष्ट्रिय मार्गचित्र स्वीकृत भइसकेको जानकारी दिए । उनले उक्त मार्गचित्रमा तापलहरको जोखिमलाई प्राथमिकताका साथ समावेश गरिएको र जोखिमयुक्त क्षेत्र पहिचान गरी प्रभाव न्यूनीकरणका कार्यक्रम अघि बढाइएको बताए ।

वक्ताहरूले तापलहरका कारण लू लगायत विभिन्न स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले अनुकूलनका उपाय अपनाउन र समुदायस्तरमा पूर्वतयारीलाई सुदृढ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?