अर्थमन्त्री वाग्ले भन्छन्– ‘बजेट महिनाको १ लाख आम्दानी गर्न सक्ने वातावरण निर्माणमा केन्द्रीत छ’

लोकपथ
56
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रमा नीतिगत सुधारको आधार तयार गर्ने र युवापुस्तामा स्वदेशमै अवसरको आशा जगाउने दाबी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘पोस्ट–बजेट’ छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले भर्खरै अध्ययन सकेका युवाहरूलाई स्वदेशमै आत्मसम्मानका साथ मासिक करिब एक लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने वातावरण बनाउने लक्ष्य बजेटले लिएको बताए ।

उनले १० लाख रुपैयाँसम्मको वार्षिक आयमा कर छुटलाई ‘क्रान्तिकारी कदम’ भन्दै यसले बजारमा उपभोग बढाई अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे । उच्च आय वर्गमा लाग्दै आएको ३९ प्रतिशत करलाई १० प्रतिशत बिन्दुले घटाइएको उल्लेख गर्दै उनले बचतलाई लगानीमा रूपान्तरण गर्न यो निर्णय गरिएको बताए ।

त्यस्तै, पुराना कर बक्यौतामा रहेका व्यवसायीलाई १ प्रतिशत प्रशासनिक शुल्क तिरेर नयाँ सुरुवात गर्ने व्यवस्था बजेटमा गरिएको जानकारी पनि उनले दिए ।

अर्थमन्त्री वाग्लेले नेपाल टेलिकमको केही सेयर सर्वसाधारणमा जारी गर्ने, राष्ट्रिय वाणिज्य बैंकलाई सुदृढ बनाउने तथा नेपाल वायुसेवा निगम र नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने योजना अघि सारिएको बताए । पूर्वाधार विकासका लागि ‘अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स बिल’मार्फत अफसोर बन्ड, डायस्पोरा बन्ड र थिम्याटिक बन्ड जारी गरिने उनको भनाइ थियो ।

विद्युतमा भ्याट लागू गर्ने निर्णयबाट सरकार पछि नहट्ने तर उपभोक्तामा भार नपर्ने विकल्प खोजिने उनले स्पष्ट पारे । विपन्नका लागि निःशुल्क विद्युत युनिटको सीमा बढाउने वा मूल्य समायोजन गर्ने विकल्पमा छलफल भइरहेको उनले बताए ।

बजेटमा सामाजिक न्यायतर्फ विशेष कार्यक्रम पनि समावेश गरिएको छ । देशका २५ दुर्गम जिल्ला र करिब ३ लाख १७ हजार दलित बालबालिकालाई मासिक १ हजार रुपैयाँ पोषण भत्ता दिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

पुँजी बजार, कर प्रणाली र लगानी वातावरण सुधारलाई बजेटको मुख्य आधार बनाइएको उल्लेख गर्दै उनले यो बजेट केवल खर्चको सूची नभई आगामी पाँच वर्षका लागि नीतिगत दिशानिर्देश भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?