पूर्व अर्थमन्त्रीहरुबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले के–के पाए सुझाव ?

लोकपथ
133
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग छलफलसहित सुझाव लिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटका लागि सुझाव लिएका हुन् ।

बजेटमा सुझाव माग्दै अर्थमन्त्री डा.वाग्लेले भने, ‘बजेटको अन्तिम समयमा छु । तपाईंहरूको राम्रो अनुभवसहितको कार्यक्रम अनुशरण गर्दै जाने हो । अब मलाई नयाँ परिस्थितिमा आउन लागेको नयाँ बजेटमा सुझाव पाउँ । हामी सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी गरिरहेका छौँ ।’

उनले थप भने, ‘हामी सबैले जीवनको कुनै न कुनै कालखण्डमा अर्थ मन्त्रालयको बागडोर सम्हालेका छौँ । भलै त्यो बेलको राजनीतिक परिस्थिति कति अनुकुल थिए कति प्रतिकुल । तर, उदेश्य सबैको पवित्र र एउटै थियो देश र जनताका लागि राम्रो गर्ने । तर, परिस्थितिले त्यो कति सफल भयो कति सफल भएन समीक्षाको विषय छ । नयाँ परिस्थितिमा अब हामी आएका छौँ । हामी तपाईंहरूले गर्नुभएको राम्रो कामको अनुशरण गर्दै अघि बढ्ने हो । मैले पटक पटक भन्ने गरेको छु हाम्रा अग्रजले देखाएको बाटो नै हिँड्ने हो । यही व्यवस्था र यही राजनीतिक प्राप्तिबाटै समृद्धि हासिल गर्ने हो ।’

सुझाव दिने क्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यन्वयन गर्न आग्रह, तयारी नभएको खुद्रा र टुक्रे आयोजनामा बजेट नछर्न, विद्युतमा मूल्यअभिवृद्धि कर नलगाउन लगायतको ७ ओटा सुझावहरु दिए ।

त्यसैगरी पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्रीहरू बाउन्ड्रीमा बस्नुपर्ने, राजश्व वृद्धिको सीमा १५ प्रतिशत नराख्न, आयकरको सीमा तल्लो स्ल्याब नचलाउनलगायतको १९ ओटा सुझाव दिए ।

यता पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले सरकार र निजी क्षेत्र मिलेर जाने वातावरण बनाउन, साना, मझौला र ठूलो औद्योगिक र निजी क्षेत्रलाई प्रोत्साहनको नीति लिन, स्थिर सरकार चलाउने, कर्मचारीलाई प्रोत्साहन र दण्डको घोषणा पत्र कार्यन्वयन गर्ने लगायातको ७ सुझावहरु दिए ।

त्यसैगरी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूलो आयोजना घटाउन, पहाड छेडेर सुरुङ बनाउन, भारतीय पर्यटकलाई आकर्षित गर्ने योजना बनाउन लागायतको ९ सुझाव दिए ।

यता पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ता हुने खानेलाई नदिन, नचाहिने संरचना हटाउन, सरकारी उद्योग र जमिनलाई लिजमा दिनलगायतको १० सुझावहरु दिए ।

त्यसैगरी पूर्व अर्थमन्त्री वर्षमान पुनले पर्यटन पुर्वाधारमा लगानी गर्न ग्रामीण कृषि उपजलाई बजारमा ल्याउने वातावरण बनाउन, पालिका केन्द्रसम्म पुग्नेगरि १२ महिना नै चलाउन सकिने बाटो बनाउनलगायतको १० सुझावहरु दिए ।

सो क्रममा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वाचा पत्रलाई पूर्ण परिपालन गर्न सकिने बजेट बनाउन, स्रोतको अनुमानमा भन्दा पनि खर्चको अनुमान गरेर बजेट बनाउन, खानी विभागले पहिचान गरेको खानी उत्खनन गरेर बेच्नलगायतको ७ सुझाव दिए ।

पूर्व अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट कार्यन्वयन गर्न, योजना छनोट र राजश्वमा लोकप्रियता युक्त निर्णय गर्न, सीमा क्षेत्रको बजार हराभरा बनाउन लगायतको १७ सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?