ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्ने ४५ वर्षीया मीना कुमारी सुनुवार, दोलखा वैतेश्वर गाउँपालिका–१ घर भई हाल भक्तपुर मध्यपुर थिमी–४ बस्ने ३८ वर्षीय कालीदास धतानी, र झापा अर्जुनधारा नगरपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–८ बस्ने २७ वर्षीय अजित विश्वकर्मा रहेका छन् ।

प्रहरीका अनुसार ललितपुरका एक सुनचाँदी व्यवसायीलाई आमा बिरामी रहेको र उपचारका लागि रकम आवश्यक परेको भन्दै सुन धितो राख्ने बहानामा उनीहरूले विश्वास दिलाएका थिए । सो क्रममा नक्कली बिल–बिजक तयार गरी तथा सुनको लेप लगाइएको नक्कली गहना देखाएर ५ लाख रुपैयाँ लिइएको खुलेको छ ।

घटनामा प्रयोग गरिएका नक्कली सुनका गहना समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामग्रीमा तिलहरी, ठिक्का, चुरा तथा चाँदी जस्तो देखिने तिलहरीसमेत रहेका छन् ।

ठगीपछि फरार रहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?