काठमाडौं । राष्ट्रिय सभामा सांसदहरूले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा प्रधानमन्त्री बालेन्द्र साहको अनुपस्थितिलाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।
उनीहरूले यसलाई सामान्य घटना नभई राष्ट्रपति र संसदप्रति अपमानजनक व्यवहार भएको भन्दै प्रधानमन्त्रीले सदनमा आएर स्पष्टिकरण दिनुपर्ने माग गरेका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद सुरेश आलेमगरले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर कडा आपत्ति जनाए । उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक प्रक्रियामा प्रधानमन्त्री उपस्थित नहुनु गम्भीर विषय भएको बताए ।
आलेमगरले प्रधानमन्त्रीको अनुपस्थितिको कारणबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने माग गर्दै स्वास्थ्यका कारण हो भने पनि त्यसबारे प्रश्न उठ्ने बताए ।
उनले भने, ‘राष्ट्रपतिज्यूले सम्बोधन गरिरहँदा मात्रै बिग्रिने र सकिएपछि ठिक हुने कस्तो स्वास्थ्य हो ? यसको वास्तविक कारण सदनलाई जानकारी दिनुपर्छ ।’
उनले प्रधानमन्त्री स्वयं उपस्थित भएर घटनाबारे स्पष्ट पार्नुपर्ने माग गर्दै यसलाई राष्ट्रपति माथिको अपमानका रूपमा लिन सकिने टिप्पणी गरे ।
यसैगरी नेकपा एमालेकी राष्ट्रिय सभा सचेतक रोशनी मेचेले पनि प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर आपत्ति जनाउँदै घटनाबारे सदनलाई जानकारी गराउन माग गरिन् ।
उनले संसदमा अमर्यादित र असंवैधानिक व्यवहार स्वीकार्य नहुने भन्दै सरकारको भूमिकाप्रति ध्यानाकर्षण गराइन् ।
सांसदहरूले प्रधानमन्त्रीको व्यवहारले लज्जाबोध भएको टिप्पणी गर्दै यस्ता घटनाले संवैधानिक प्रक्रिया र संसदीय मर्यादामाथि प्रश्न उठ्ने चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया