काठमाडौं । ‘हामी सरकारको जग्गामा महल ठड्याउन मुर्ख थिएनौँ तर आश देखाइयो, लालपुर्जा पाइन्छ भनियो, अनि हामीले जिन्दगीको कमाइले पक्की घर बनायौँ । तर आज त्यो घर धुलो बनेको छ ।’
यो भनाई हो २५ वर्षीया एस्थर जिरेलको । उनी बोलिरहेका बेला उनको स्वर काँपिएको र आँखा रसाएको थियो । उनी अहिले आफन्तको घरमा शरण लिइरहेकी छिन् । कहिल्यै नसोचेको दिन उनले आफ्नै आँखाले देखिन्, जहाँ उनले बाल्यकाल बिताइन्, जहाँ उनका सपनाहरू हुर्किए । हो, काठमाडौं, शंखमुलको त्यही बुद्धमार्ग टोल डोजरले चिराचिरा बनाइदिएको छ ।
शंखमूल–थापाथली क्षेत्रको सुकुमबासी बस्ती कुनै एक दिनमा बनेको थिएन । दशकौंअघि खोलाको किनार, झाडी र फोहोरले भरिएको भूभागमा टिनका छाप्रा ठडिएका थिए । त्यहीँबाट संघर्ष सुरु भएको थियो । मानिसहरूले दिनरात मजदुरी गरेर टोल विकास गरे । बाटो बनाए, बिजुली पुर्याए, छोराछोरी पढाउँदै थिए । टिनका छाप्रा पक्की घरमा फेरिए । तर एस्थरको आरोप छ यो विकाससँगै आशाको व्यापार पनि भयो ।
एस्थर भन्छिन्, ‘हामीलाई बारम्बार ढुक्क हुन भनियो । केही हुँदैन, लालपुर्जा आउँछ भनेर टोलका अध्यक्ष हुकुमबहादुर मोक्तान र तत्कालीन वडा अध्यक्ष सतिश तण्डुकारले आश्वासन दिए । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि हटाउन खोजिएको थियो, तर सफल भएनन् । त्यसैले हामीले विश्वास गर्यौँ ।’
नेपालमा सुकुमबासी समस्या नयाँ होइन । पञ्चायतकालदेखि सुरु भएको अव्यवस्थित बसोबास राजनीतिक दलहरूको भोट बैंक बन्दै आयो । चुनावअघि व्यवस्थापनको वाचा गरिन्थ्यो, चुनावपछि फाइल थन्किन्थ्यो । २०४७ पछि काठमाडौं उपत्यकामा हजारौं परिवार खोलाकिनारमा बस्न थाले । थापाथली, शंखमूल, सिनामंगल, मनोहरालगायतका सुकुमबासी बस्तीहरू राजनीतिक भाषणका स्थायी विषय बने ।
तर जब काठमाडौं महानगरले नदी किनारका अतिक्रमण हटाउने अभियान सुरु गर्यो, त्यो अभियानले हजारौं परिवारलाई एकैपटक विस्थापित गरिदियो । महानगरको तर्क थियो, नदी मिचेर बनाइएका संरचना हटाउनैपर्छ । तर एस्थरहरू सोधिरहेकी छन्, ‘व्यवस्थापन बिना हटाउनु नै समाधान हो ?’
एस्थर आक्रोशित हुदै भन्छिन्, ‘घर भत्कियो, ठिक छ । तर वास्तविक सुकुमबासीको पहिचान गरेर बस्ने ठाउँ दिएर भत्काएको भए हुन्थ्यो । अहिले होल्डिङ सेल्टरमा सुरक्षा छैन, खानाको राम्रो व्यवस्था छैन । हामीभन्दा बढी बिजोग त कुकुर र पशुहरूको भएको छ । अलपत्र परेर दुर्घटनामा मरिरहेका छन् ।’
घर भत्कियो, ठिक छ । तर वास्तविक सुकुमबासीको पहिचान गरेर बस्ने ठाउँ दिएर भत्काएको भए हुन्थ्यो ।
एस्थरको आक्रोश अझ तीखो हुन्छ जब उनी आफ्नै टोल नेतृत्वतर्फ फर्किन्छिन्, ‘हुकुमबहादुर मोक्तान पनि पहिला हामीजस्तै सुकुमबासी थिए । अहिले चारतले घर बनाइसकेका छन् । साधारण चिया पसल गर्ने मान्छेसँग यति पैसा कहाँबाट आयो ? उनले हाम्रो आँसु बेचेर घर बनाएको छ, गाडी चढ्दै छन् । इन्द्र चाम्लिङको सम्पत्तिमाथि छानबिन भएजस्तै उनीहरुको पनि हुनुपर्छ ।’
उनको आरोप केवल स्थानीय नेतामाथि मात्र होइन, सरकार नेतृत्वमाथि पनि छ ।
एस्थरका भन्छिन्, ‘चुनावअघि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गरिबको पक्षमा बोलेको भाषण अहिले भाषणमै सीमित भयो । एमाले, कांग्रेस, माओवादीसँगको रिस जनतामाथि पोखिएको जस्तो लाग्छ । ‘राजनीतिक लडाइँमा हामी बलिको बोका बन्यौँ ।’
आज बुद्धमार्ग टोलमा धुलो उडिरहेको छ । कतै भत्किएका भित्ताका इँटा छन्, कतै च्यातिएका झ्यालका फ्रेम । तर त्यो धुलोसँगै उडेको छ, हजारौं गरिब परिवारको सपना पनि ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया