काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउनुपर्ने अडान राखेको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहको अनिवार्य उपस्थितिको माग गर्दै बैठक अवरुद्ध पारिरहेका बेला रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले नियमावलीमा प्रधानमन्त्री स्वयं उपस्थित हुनैपर्ने व्यवस्था नरहेको बताएका हुन् ।
उनले प्रधानमन्त्रीले आफ्नो तर्फबाट मन्त्रीलाई प्रस्ताव प्रस्तुत गर्न तोक्न सक्ने व्यवस्था नियममै रहेको उल्लेख गर्दै सोही सहमतिअनुसार बैठक सञ्चालनमा आएको बताए ।
बुर्लाकोटीले नीति तथा कार्यक्रम संसदमा टेबुल भइसकेपछि त्यसमा छलफल हुनैपर्ने जिकिर गरे । ‘टेबुल गर्न दिने तर छलफलमा जान नदिने कुरा मिल्दैन । कुनै पनि नियममा प्रधानमन्त्री उपस्थित नभएसम्म छलफल गर्न नपाइने व्यवस्था छैन,‘उनले भने ।
उनले विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिलाई अनावश्यक रूपमा मुद्दा बनाएको आरोप पनि लगाए । कि त प्रधानमन्त्रीको अनुहार नै हेर्नुपर्यो भन्ने जस्तो भयो, अन्यथा टेबुल भइसकेको विषयमा छलफल अगाडि बढ्नुपर्छ,‘उनले टिप्पणी गरे ।
विपक्षी दलहरूले भने सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया