काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संविधान, कानुन, राष्ट्रिय हित, संगठनको मर्यादा र जनअपेक्षालाई केन्द्रमा राख्दै इमानदारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पकासाथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पद केवल संगठनको नेतृत्व गर्ने औपचारिक जिम्मेवारी मात्र नभई नेपालको राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति तथा सुशासन कायम गर्दै जनताको जीउधन र स्वतन्त्रताको संरक्षण, विपद् व्यवस्थापन तथा नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीहरूको प्रभावकारी कार्यान्वयन र नयाँ जनभावनाबमोजिमको कर्तव्य सुनिश्चित गर्ने उच्च दायित्व रहेकोसमेत उल्लेख गरेका छन् ।
आज सोमबार बिहान गृहसचिव राजकुमार श्रेष्ठबाट सशस्त्र प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्हबाट सु–शोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

महानिरीक्षक पौडेलले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सबलीकरण गर्दै संगठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढीकरण गर्न रणनीतिक कार्ययोजना तयार गरेको उल्लेख गर्दै सो कार्ययोजना कार्यान्वयनका लागि नेपाल सरकार तथा गृह मन्त्रालयबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
उनले सकल दर्जाको कल्याण र वृत्तिविकासमा जोड दिँदै मानव संसाधनको विकास, आधुनिक प्रविधिको प्रयोग गरी नतिजामुखी कार्यशैली अपनाउँदै सुशासन र विकासमैत्री वातावरण निर्माण गर्ने उल्लेख गरे । उनले संगठन व्यक्तिले नभई नीतिले चलाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले नेपाल सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार योजनाअनुसारको कार्यहरूको योजना तयार गरी संगठनले प्रदान गर्ने सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने बताउँदै सशस्त्र प्रहरी बल नेपालको विभिन्न नयाँ ऐन नियम तथा कार्य क्षेत्रभित्र पर्ने ३१ वटा विभिन्न संघीय ऐनहरूमा काम कर्तव्य र अधिकारसहितको स्पष्ट कानुनी व्यवस्था, संगठनको आधुनिकीकरणमा सहयोग एवं आवश्यक स्रोतसाधनको उपलब्धता तथा समयसापेक्ष मार्ग निर्देशनको लागि सकारात्मक एवं रचनात्मक सहयोगको लागि नेपाल सरकार एवं गृह मन्त्रालयसँग अपेक्षा गरे ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख १४ गतेको निर्णयले पौडेल सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।
दर्ज्यानी चिन्हबाट सु–शोभित कार्यक्रममा गृहसचिव श्रेष्ठले पौडेललाई हार्दिक बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए ।
गृहसचिव श्रेष्ठले संगठनभित्र पेसागत दक्षता, क्षमतालाई अभिवृद्धि गर्दै सरुवा, बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन अग्रसर रहन निर्देशन दिँदै सरुवा प्रणाली र वृत्तिविकास दुवैलाई प्रभावकारी रूपमा व्यवस्थित गरिए असन्तुष्टि र गुनासो कम हुने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरी बल नेपालले BIRD को अवधारणा अनुरूप कार्यक्षेत्रमा सीमित स्रोतसाधनको बाबजुद उत्कृष्ट नतिजा आउने गरी कार्यसम्पादन गर्दै आइरहेको बताउँदै आगामी मनसुनजन्य विपदमा समेत सशस्त्र प्रहरी बल नेपाललाई पूर्व तयारीकासाथ उद्धार, व्यवस्थापन तथा राहत कार्यमा जुट्न निर्देशन दिए ।

त्यसै अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालमा सेवारत रहँदा कर्तव्यको बलिवेदीमा प्राणोत्सर्ग गर्ने वीर सपुतहरूको बलिदान तथा अमूल्य योगदानको स्मरण गर्दै देश र जनताको लागि प्राणोत्सर्ग गर्ने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीहरूको चीर शान्तिको कामना गरेका थिए । उनले घाइते तथा अंगभंग भएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।
समारोहमा प्रहरी महानिरीक्षक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिवहरूलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको सूचना शाखाका डीएसपी शैलेन्द्र थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया