स्वास्थ्य मन्त्री मेहताको एक्सन : अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला गर्न प्रतिबन्ध !

लोकपथ
49
Shares

 काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री नीशा मेहताले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र जथाभाबी भिडियो खिच्ने, होहल्ला गर्ने तथा स्वास्थ्यकर्मीको काममा अवरोध पुर्‍याउने गतिविधिविरुद्ध कडा कदम चाल्न निर्देशन दिएकी छन् ।

मन्त्रालयले २०८३ वैशाख १६ गते जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिलाई कडाइका साथ कार्यान्वयन गर्दै मन्त्री मेहताले अस्पताल परिसरमा सम्बन्धित संस्थाको पूर्वस्वीकृतिविना भिडियो वा फोटो खिच्न, अन्तर्वार्ताको नाममा भिडभाड गर्न तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीको कार्यमा बाधा पुर्‍याउन पूर्ण रोक लगाइएको स्पष्ट पारेकी हुन् ।

मन्त्रालयका अनुसार बिरामीको गोपनीयता हनन हुने तथा स्वास्थ्य सेवा प्रभावित पार्ने यस्ता गतिविधि गैर कानुनी मानिनेछ । यस्तो कार्यमा संलग्न जो–कोहीलाई ‘मुलुकी अपराध संहिता, २०७४’ तथा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ ।

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई समेत आवश्यक कारबाहीका लागि जानकारी गराइसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री मेहताले उपचारका क्रममा कुनै कमी–कमजोरी भएको महसुस भए अस्पतालमा तोडफोड, होहल्ला वा अवरोध सिर्जना गर्नुको साटो सम्बन्धित निकायमा तथ्यपरक उजुरी दिन सबै सरोकारवालालाई आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?