सीजी मोटर्सले बजारमा ल्यायो ‘किङलङ’ को १६ सिटर ‘इलेक्ट्रिक भ्यान’, व्यवसायीलाई यस्तो छुट

ब्याट्री वारेन्टी ७ वर्ष वा ४ लाख किलोमिटर

लोकपथ
126
Shares

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधिसहितको किङलङको १६ सिट क्षमताको (१६ सिटर) इलेक्ट्रिक भ्यान (ईभी भ्यान) बजारमा ल्याएको छ ।

सोमबार सीजीको काठमाडौंको पानीपोखरीस्थित सोरुममा एक भव्य समारोहबिच उक्त भ्यान सार्वजनिक गरिएको हो ।

काठमाडौं महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रेम महर्जन, सीजी मोटर्सका बिजनेस हेड बद्री भट्टराईसहित किङलङको चिनियाँ प्रतिनिधिहरुको उपस्थितिमा उक्त इलेक्ट्रिक भ्यान उद्घाटन गरिएको हो ।

कार्यक्रममा सीजी मोटर्सका तर्फबाट बोल्दै भट्टराईले किङलङको नयाँ मोडेलको सवारीको आगमनले नेपालको व्यवसायीक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरे ।

के छ १६ सिटर किङलङको विशेषता ?

१६ सिट क्षमता भएको किङलङको उक्त भ्यानको मुख्य विशेषता ७५.४१ केडब्ल्यू (किलोवाट) एच क्षमताको ब्लेड ब्याट्री रहेको छ, जुन यस सेग्मेन्टमै पहिलो रहेको कम्पनीको दाबी रहेको छ । उक्त ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेञ्ज प्रदान गर्नेछ ।

सोमबार सार्वजनिक गरिएको दुई रङको भ्यानमा १२० किलोवाटको शक्तिशाली मोटर रहेको र त्यसले सशक्त कार्यक्षमता निर्धारण गर्नेछ । साथै नेपाली बाटोका लागि यो राम्रो रहेको बिजनेस हेड भट्टराईले बताए ।

उनका अनुसार उक्त भ्यानको ब्याट्रीको वारेन्टी ७ वर्ष वा ४ लाख किलोमिटर रहेको छ । अर्थात् ७ वर्ष वा ४ लाख किलोमिटरसम्म गुड्ने बेलासम्म कुनै समस्या आएमा वारेन्टी लागू हुनेछ ।

व्यवसायीहरुका लागि लोन पिरियड नै वारेन्टी पिरियड रहेको हुनाले थप सहज हुने कम्पनीको दाबी रहेको छ ।

२२० एमएम ग्राउण्ड क्लियरेन्स क्षमता (जमिनदेखिको हाइट) रहेकोमा इन्टेरियर हाइट अर्थात् प्यासेन्जर बस्ने क्षेत्रको हाइट नेपालीहरुको सरदर हाइटमा उभिन उभिन सकिने रहेको छ । यता गाडीमा एसी जडान गरिएकाले वातानुकुलित वातावरणमा यात्रुहरुले यात्रा गर्न सक्नेछन् ।

त्यसो त नेपालमा सार्वजनिक गर्नुअघि उक्त व्यवसायीक भ्यान नेपालका विभिन्न दुर्गम र पूर्वीदेखि सुदूरपश्चिमका पहाडी बाटोहरुमा समेत गुडाइएको थियो । २ महिना लामो परीक्षणपछि त्यसमा आवश्यक मोडिफाइ गरी नेपाली सडकमा उपयुक्त हुने निष्कर्षमा आफूहरु पुगेको बिजनेस हेड भट्टराईले उद्घाटन सत्रमा बताए ।

‘नेपालको सडक अवस्था अनुसार सञ्चालन गरी उपयुक्त बनाउन नेपाल र चीनका इन्जिनियरहरुको संयुक्त टोलीले सूदुरपश्चिम पहाडको डडेल्धुरादेखि, अछाम, कालीकोट, रुकुम, मुस्ताङ, सोलुखुम्बु ओखलढुंगा, खोटाङ, ताप्लेजु्ङ, पाँचथर लगायत तराइ पहाडका सबै रुटहरुमा २ महिनाको लामो टेस्टिङ सकेर त्यसमा आवश्यक मोडिफिकेसन सकेर नेपाली बजारमा भित्राएका हौँ,’ उनले भने ।

उक्त गाडीको हालको मूल्य ७२ लाख ५० हजार रहेको छ । त्यसो त आजै किन्ने व्यवसायी तथा ग्राहकहरुका लागि २ लाख ५० हजार डिस्काउन्टको व्यवस्था समेत गरिएको छ ।

किङलङ सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्शियल भेइकल भ्यान निर्माण कम्पनी हो ।

तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोच र कमर्शियल भ्यान निर्माणमा विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ ।

सीजी मोटर्सका अनुसार यो सवारी नेपालमा बढ्दो इको फ्रेण्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यक्तालाई ध्यानमा राखेर ल्याइएको हो । नेपालभर किङलङले हालसम्म ५ हजार भन्दा धेरै बिक्री, २६० भन्दा बढी चार्जिङ स्टेशन, २० वटा भन्दा बढी सर्भिस सेन्टर र १४ डिलर नेटवर्कमार्फत् ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?