नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जमा हवाई फायर गर्दै तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी रमेश विष्टका अनुसार नेपालगन्ज उपमहानगरपालिका–२२ स्थित शान्तिनगरचोक नजिक तीन राउण्ड हवाई फायरिङ गर्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा सोही वडाका ३५ वर्षीय नुरमोहम्मद किङ्गरिया, २८ वर्षीय दिनेश बासखोरी र २९ वर्षीय सरोश शाही रहेका छन् । उनीहरूको साथबाट ३७० ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले लामो समयदेखि निगरानी र सुराकी परिचालनपछि उनीहरूलाई लागुऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ गर्न सफल भएको जनाएको छ ।
प्रहरी निरीक्षक विष्टका अनुसार पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिनेछ ।
बाँकेमा पछिल्ला दिनहरूमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ्दै गएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया