कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु

लोकपथ
56
Shares

मुस्ताङ । कालिगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । यहाँको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी श्राद्धस्थल नजिक नदीले बगाउँदा आठ वर्षीय बालक बरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ बस्ने ३२ वर्षीय विमला गौलीसहित १२ जनाको टोली आज यहाँको कागबेनीमा श्राद्ध गर्न पुगेको थियो ।

उक्त स्थानमा दिवङ्गत पितृको नाममा श्राद्ध गर्ने क्रममा गौलीका आठ वर्षीय छोरा बरुण गौली अचानक नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

हराएका बालकको चप्पल कालीगण्डकी खोलाको छेउमा फेला परेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी कागबेनीबाट चार जना, जिल्ला प्रहरी कार्यालयबाट पाँच जना र सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्म हेडक्वाटर जोमसोमबाट ११ जनाको टोलीले खोजी सुरु गरेको थियो ।

त्यस क्रममा श्राद्धस्थलदेखि एक किलोमिटर दक्षिण कालीगण्डकी नदी किनारामा बालक अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।

निजलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?