काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले बैशाख महिनाका लागि ब्याजदर घटाएका छन् । कुल २० वटा वाणिज्य बैंकमध्ये १० बैंकको ब्याजदर भने स्थिर छ । एउटा बैंकले भने ब्याजदर बढाएको छ ।
ब्याजदर घटाउने बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंक छन् ।
यस्तै, ब्याजदर स्थिर राख्ने बैंकहरूमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, प्रभु बैंक र एनएमबि बैंक रहेका छन् ।
सिद्धार्थ बैंक तथा एनआईशी एसिया बैंकले मुद्दतीतर्फ व्यक्तिगत र संस्थागत दुवैतर्फ अधिकतम ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले तल झार्दा हिमालयन बैंकले क्रमशः ०.५० र ०.२५ प्रतिशत विन्दुले तल झारेको छ । अन्य बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन् । नबिल बैंकले भने संस्थागत निक्षेपको ब्याज मात्रै घटाएको छ ।
व्यक्तिगततर्फ सिटिजन्स बैंकले ०.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.२५, एभरेस्ट बैंकले ०.२०, कुमारी बैंकले ०.०७, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले घटाउँदा नबिल बैंकले संस्थागततर्फ ०.५४ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ ।
यसपटक ब्याजदर बढाउने एकमात्र बैंक कृषि विकास बैंक रहेको छ । सो बैंकले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा ०.०३ प्रतिशत विन्दुले वृद्धि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया