बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी 

लोकपथ
532
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । 

काठमाडौं–३१ का युवराज सफलले शुक्रबार गृह मन्त्रालयमा उजुरी दिएका हुन् । उनले बालेनले आफूखुसी थर परिवर्तन गरेकाले उनको नागरिकता रद्द गर्न माग गरेका छन् । 

बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौंको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको उजुरीमा दाबी गरिएको छ । उनले झुटो विवरण पेस गरेर थर परिवर्तन गरेकाले नागरिकता रद्द गर्नुपर्ने जिकिर गरिएको छ । 

बालेन्द्रले सुरुमा लिएको नागरिकतामा थर ‘साह’ नै उल्लेख भएको देखिन्छ । उनले जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता प्रमाणपत्र नम्बर ५१९२ को नागरिकता २०६३ पुस ६ मा लिएका थिए । त्यसमा थर ‘साह’ नै लेखिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मिति २०७९ असार १९ गते प्रथम प्रतिलिपि लिँदा उनले ‘साह’ लाई ‘शाह’ बनाएको देखिन्छ । यसलाई अनधिकृत रूपमा नागरिकतामा उल्लिखित जात÷थर परिवर्तन गराएको अर्थमा लिइएको छ । सोही प्रतिलिपिमा उनले आफ्नो बुबा (स्व. रामनारायण साह) को नामको थर ‘साह’को ठाउँमा ‘शाह’ राखेको देखिन्छ । तर यो उनले आफैँ गराएका हुन् वा प्रशासनको त्रुटि हो भनेर खुलेको छैन । यसरी ‘स’ र ‘श’ मा देखिएको फरक उनका मातापिता र दाजुको नागरिकतामा समेत देखिएको छ ।

उनका आफ्नै दाजु कौशलेन्द्र साहको नागरिकतामा भने पुरानै थर देखिएको छ । नागरिकताको विवरणको अनधिकृत हेरफेर गरेको कुरा उनका दाइ कौशलेन्द्र साहको नागरिकता विवरणबाट समेत प्रस्ट भएको छ । कौशलेन्द्र साहको नागरिकता जारी मिति २०६३ पुस ६ गते र प्रथम प्रतिलिपि २०७८ मंसिर १५ मा लिएको र सो नागरिकतामा उनको नाम कौशलेन्द्र साह र बुवाको नाम रामनारायण साह नेपाली नै रहेको देखिन्छ । यसरी कौशलेन्द्र साह दाइ र बालेन्द्र शाह भाइको नागरिकता विवरणको थरमा ‘साह’ र ‘शाह’ भिन्न हुनुले पनि विवाद बढ्न सक्ने आकलन गरिएको छ ।

नेपाली समाजमा शाह र साह दुवै थर प्रयोगमा रहे पनि यिनीहरूको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि फरक छ । शाह मुख्यतः नेपालको राजपरिवार (गोर्खाली राजा) सँग सम्बन्धित छ भने ‘साह’ तराई क्षेत्रमा प्रचलित मधेसी समुदायको थर हो, जसको अर्थ सामान्यतया व्यवसायी वा साहुजी हुन्छ ।

के छ कानुनी प्रावधान ?

नागरिकता ऐन २०६३ को दफा १२ मा कुनै पनि नेपाली नागरिकले झुटो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाण पत्र रद्द गर्ने व्यवस्था लेखिएको छ । 

यसैको दफा १७ मा विवरण सच्याउन पाउने नागरिकता ऐनमा व्यवस्था गरिएको छ । जहाँ भनिएको छ, ‘कुनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेखित थर वा उमेर वा शैक्षिक योग्यताको प्रमाण फरक पर्न गई प्रमाणपत्रमा सानातिना त्रुटि भई सो विवरण सच्याउन चाहेमा आवश्यक तोकिएको अधिकारी समक्ष निवेदन दिनुपर्ने हुन्छ ।’

तर यसको स्पष्टीकरणमा भनिएको छ, ‘यस उपदफाको प्रयोजनका लागि सानातिना त्रुटि भन्नाले नागरिकताको प्रमाणपत्रमा उल्लिखित विवरण जस्तै– कुमारी,  देवी, बहादुर, प्रसाद जस्ता बढी राखिएको वा छुटेको वा आकार, इकारमा फरक परेको वा यस्तै अन्य सानातिना त्रुटिलाई जनाउनेछ ।’ दफा १२ अनुसार बालेन र उनका आमाबुवाको हकमा यो कुरा देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?