नेतृत्वमाथि प्रश्नै प्रश्न गर्दै बागमती प्रदेशका उपसभापति हुमागाईंले पनि छाडे रास्वपा

लोकपथ
231
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी छाडेका छन् । उनले रास्वपाको प्रदेश उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिएका हुन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवारसमेत रहेका उनले रास्वपाभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्रमा ह्रास आएको, आर्थिक अपारदर्शिता र नेतृत्वस्तरमा नैतिक विचलन आएको भन्दै राजीनामा दिएको बताएका छन् । 

हुमागाईंले उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको आरोप पनि लगाएका छन् । वर्षौँदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको उनको भनाइ छ । 

उनले प्रतिनिधिसभा निर्वाचनमा मोबाइल पसलमा काम गर्ने, गीत गाउने वा सामाजिक अभियन्ताको परिचय दिएका र चटकदार व्यक्तिहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको आरोपसमेत लगाएका छन् । 

रास्वपामा प्रारम्भिक समिति केन्द्रीय समिति विस्तार हुँदै गए पनि यसको मापदण्ड, प्रक्रिया र औचित्यमा स्पष्ट पारदर्शिता नभएको औँल्याउँदै उनले पार्टीको संरचना विधि र सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित निर्णयतर्फ उन्मुख भएको पनि राजीनामा पत्रमा उल्लेख गरेका छन् । 

उनले सदस्यता शुल्क र उम्मेदवार आवेदन शुल्क व्यापक रूपमा संकलन गरिए पनि यसको पारदर्शी लेखाजोखा सार्वजनिक नगरिएको भन्दै प्रदेश र पालिका तहमा बाँडफाँड हुने भनिएको रकम पनि स्पष्टता नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?