काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गर्ने भएकी छिन् ।
आज जनकपुरधाममा कांग्रेस सभापति गगन थापासमेतको उपस्थितिमा आयोजना हुने प्रतिज्ञा सभामार्फत उनी औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
मधेसमा टिकट वितरणमा आर्थिक चलखेल र विधि मिचिएको गुनासो गर्दै ममताले आज साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरेकी थिइन् । संस्थापक सभापति शर्माले आज एक विज्ञप्ति जारी गर्दै पार्टीमा इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोपसमेत लगाएकी थिइन् ।
‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोले मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आएको छ । यी सबै क्रियाकलापहरूको साक्षी बनेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु,’ उनले राजीनामा पत्रमा भनेकी थिइन् ।
शर्मा २०७९ साल साउन १० गतेदेखि सो पार्टीमा आबद्ध थिइन् । उनले आफ्नो योग्यता, क्षमता र समय समर्पित गर्दै निरन्तर योगदान पु¥याउँदै आएकी थिइन् । तर, फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र कार्यशैली पार्टीको मूल्यमान्यतासँग विपरीत रहेको उनले बताएकी छिन् ।
बाराकी ममताले रास्वपालाई मधेसमा एक एक गरी फूलको माला जस्तै जोडेकी थिइन् । मधेसमा एकढिक्का बनाएर आठ जिल्लामा चिनाएकी थिइन् । तर पार्टीका पार्टी प्रवक्ता मनिष झा र अमरेश सिंहको मिलेमतोमा रविले पैसामा टिकट अर्कैलाई बाँडेपछि उनी असन्तुष्ट भएकी थिइन् । साथै संस्थापक सभापति शर्माले टिकट नपाएपछि पार्टीभित्र आन्तरिक विवाद सतहमा देखिएको थियो ।
उनले पार्टीका सभापति, प्रवक्ता र उच्च तप्कामा बसेका शीर्ष नेताहरूलाई पटक पटक टिकटमा किन अन्याय भयो भनेर प्रश्न गर्दा उनको प्रश्नलाई पार्टीले बेवास्ता गर्दै आएको थियो ।
यो पनि : मधेस प्रदेशमा रास्वपालाई गम्भीर धक्का : संस्थापक सभापतिले नै गरिन् पार्टी परित्याग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया