आवश्यक परे सरकार छाड्न तयार छौँ, सिद्धान्तमा सम्झौता हुँदैन : सभापति थापा

लोकपथ
196
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको दाबी गर्दै त्यसको सन्देश सरल र स्पष्ट रूपमा जनतासम्म पुर्‍याउन कार्यकर्तालाई आग्रह गरेका छन् ।

मंगलबार राति भिडियो वक्तव्य जारी गर्दै थापाले भोट माग्न जाँदा मतदातासामु ‘बदलिएको कांग्रेस’ का चार मुख्य कुरा छोटो र सम्झिन सजिलो ढंगले राख्नुपर्ने बताए ।

थापाका अनुसार बदलिएको कांग्रेसको पहिलो विशेषता भनेको चुनावअघि वा पछि, संवैधानिक निकाय, अदालतलगायत कानुनले निषेध गरेका स्थानमा कुनै पनि किसिमको भागबण्डा नगर्ने स्पष्ट नीति हो । उनले यसलाई कांग्रेसको ठोस प्रतिबद्धता भएको उल्लेख गरे ।

दोस्रो, पदमा पुगेकाले उच्च नैतिकता प्रदर्शन गर्नुपर्ने भन्दै थापाले राजनीति पेसा नभई सेवा भएको धारणा दोहोर्‍याए । उनका अनुसार कांग्रेसभित्र अब मूल्यांकन अनुभव वा उमेरका आधारमा होइन, क्षमता र कामका आधारमा गरिनेछ ।

तेस्रो बुँदामा उनले कांग्रेसले आफ्नो इतिहासप्रति गौरव गर्ने तर त्यसैमा अड्किएर नबस्ने स्पष्ट पारे । २००७, २०४६ र २०६२र६३ का आन्दोलनबाट प्रेरणा लिँदै कांग्रेसले भविष्यतर्फ दृष्टि राखेर अघि बढ्ने उनले बताए ।

चौथो बुँदाका रूपमा थापाले सत्ता र सरकारका लागि सिद्धान्तहीन सम्झौता नगर्ने नीति अघि सारे । आवश्यक परे सरकारबाहिर बस्न तयार हुने तर सिद्धान्तमा नडगमगाउने सन्देश जनतासमक्ष स्पष्ट रूपमा राख्न कार्यकर्तालाई निर्देशन दिए ।

सभापति थापाले यी चार बुँदालाई सरल भाषामा जनतासमक्ष प्रस्तुत गर्न आग्रह गर्दै यही सन्देश नै ‘बदलिएको कांग्रेस’ को पहिचान भएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?