प्रचण्डको दाबी– ‘निर्वाचन ३ प्रवृत्तिबिचको जनमत संग्रह, नेकपा पहिलो पार्टी बन्छ’

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले पत्रकार सम्मेलन गर्दै भदौ २३ र २४ गते भएका घटनाबारे र त्यसपछिको निर्वाचनबारे धारणा व्यक्त गरेका छन् ।

उनले जेनजी युवामाथि भएको हत्या, देश जलाउने प्रवृत्ति र राष्ट्रवादका पक्षमा देश बचाउने शक्तिबीच प्रतिस्पर्धा चलिरहेको दाबी गरे ।

उनले विशेषगरी २३ गते साँझ भएको नरसंहार र २४ गतेको आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिन आग्रह गरे ।

‘२३ गते साँझ नपुग्दै भएको नरसंहारको हामीले तत्काल विरोध गरेका थियौँ । त्यसअघि पनि सरकारका नेतृत्वले गरेका कामको हामीले विरोध गर्दै आएका थियौँ,’ उनले भने ।

उक्त घटनाप्रति सम्बन्धित पक्षले आत्मसमीक्षा गर्नुपर्नेमा त्यसो नगरी ‘गल्ती भएको छैन’ भन्ने प्रवृत्ति देखिनु खतरनाक संकेत रहेको बताए ।

‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ । यदि जनताले यसलाई बुझेन भने भविष्यमा फेरि दोहोरिन सक्छ,’ उनले चेतावनी दिए ।

त्यस्तै, २४ गते भएको आगजनी तथा विध्वंसका घटनामा वामपन्थी तथा लोकतान्त्रिक दलका घरमा आक्रमण भएको उल्लेख गर्दै उनले देशलाई अस्थिर बनाउने शक्तिको इसारामा चल्ने प्रवृत्ति देखा परेको दाबी गरे ।

‘त्यो नेपाललाई नियन्त्रणमा राख्न चाहनेहरूको इसारामा चल्ने प्रवृत्ति हो,’ उनले स्पष्ट गरे ।

प्रचण्डले २३ र २४ गतेका दुवै गलत प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको दाबी गरे । ‘यी दुवै गलत प्रवृत्तिविरुद्ध हामी नेपाली जनतालाई सचेत गराइरहेका छौं। २३ र २४ गतेका घटना नहोस् र दोहोरिन नदिन हाम्रो पार्टी प्रतिबद्ध छ,’ उनले भने ।

उनले हाल देशमा तीन प्रकारका प्रवृत्तिबीच संघर्ष चलिरहेको उल्लेख गर्दै यो अवस्था जनमत संग्रह जस्तो भएको बताए । कुन प्रवृत्तिलाई जिताउने भन्ने निर्णय अब जनताले गर्ने समय आएको उनले जोड दिए । साथै, देश जलाउने, हिंसा र दमन गर्ने प्रवृत्तिविरुद्ध सशक्त अभियान आवश्यक रहेको उहाँले स्पष्ट गरे ।

‘जनताले अब फैसला गर्नुपर्छ । सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रियताको पक्षमा उभिन जरुरी छ । देशको पक्षमा काम गर्न सकिएन भने फेरि दुर्घटनामा पर्न सक्छ,’ उनले भने ।

आफू देश दुर्घटनामा नजाओस् र समाजवादको यात्रामा अघि बढोस् भन्ने संकल्पका साथ अघि बढिरहेको बताए ।

निर्वाचनबारे भइरहेको ‘फिक्सिङ’को चर्चा अस्वीकार गर्दै उनले निष्पक्ष निर्वाचन भए नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्ने दाबी समेत गरे । ‘देशभरबाट प्राप्त रिपोर्टअनुसार निष्पक्ष निर्वाचन भयो भने नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्छ। देश र जनताको पक्षमा काम गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी नै हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?