काठमाडौंबाट जितेकी सोवितालाई रास्वपाले किन लग्यो चितवन ? रविको खुलाए कारण

लोकपथ
630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनले आफ्नो पार्टीलाई गुन लगाएको भन्दै प्रशंसा गरेका छन् ।

मंगलबार चितवन–३ मा घरदैलो गर्ने क्रममा सभापति लामिछानेले सो कुरा बताएका हुन् । अघिल्लो निर्वाचनमा आफूसहित २ सांसदलाई चितवनले जिताएको भन्दै अब तीन वटै क्षेत्रमा रास्वपालाई जिताउन लाग्न मतदातालाई आग्रह समेत गरे ।

उनले क्षेत्र नं ३ की उम्मेदवार सोविता गौतमको प्रसंशा गर्दै अघिल्लोपटक काठमाडौंबाट प्रत्यक्ष जितेको मान्छेलाई चितवन ल्याउने खास कारण रहेको दाबी गरे । सोवितालाई चितवन ल्याउन सिंगो रास्वपाले नै निर्णय गरेको दाबी गर्दै रविले क्रान्तिलाई निर्णयमा बदल्न सोविता चितवन आएको दाबी गरे ।

‘चितवन त्यस्तो ठाउँ जहाँबाट रगतको थोपो नबगी क्रान्तिको बिगुल फुक्यो । सोविता चितवनमा आउनका लागि ठूलो कारण छ । किनकी चितवनमा क्रान्ति छ । त्यो क्रान्तिलाई निर्णयमा बदल्न सोविता चितवन आउन जरुरी थियो । सोवितालाई चितवनमा ल्याउने निर्णय सिंगो रास्वपाको हो,’ उनले भने ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका सभापति लामिछानेले सोविता नाम मात्र नभएर वर्तमान युवा पुस्ताको प्रेरणा रहेको समेत दाबी गरिन् ।

‘सोविता गौतम एउटा नाममात्रै होइन, यो पुस्तालाई प्रेरणा दिने साहसी महिला हो । सोवितालाई यहाँबाट उठाउनुपर्‍यो भन्ने ठाउँको कमी थिएन,’लामिछानेले भने, ‘सोविता सिंगो देशको छोरी भइन् त्यसकारण हामीले चितवन ल्यायौं । किनकी चितवनबाट एउटा सन्देश दिनुपर्ने थियो ।’

लामिछानेले आफूलाई अन्याय पर्दा चितवनले गुन लगाएको समेत दाबी गरे । साथै आफू जेल पर्दा चितवनका जनताले प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियानमा साथ दिएको समेत दाबी गरे ।

‘यसपटक परिणाममा बदल्ने बेला आएको छ । जसरी अन्यायमा पर्दा तपाईंहरूले न्याय दिएर हुर्काउनुभयो । मेरो के नाता थियो र तपाईंहरूसँग,’ उनले भने, ‘आशिर्वाद दिनका लागि घरमा छोराछोरी नातीनातीना सबै थिए । तर यो छोरालाई जुन माया दिनुभयो । म कालकोठरीमा पर्दा आँशु बगाउनुभयो । अन्याय पर्‍यो भन्दा हस्ताक्षर गरिदिनुभयो । म ऋणि छु । कसरी तिर्छु थाहा छैन । म सँग बाँकी केही छैन, सत्य छ इमान छ । त्यसैको बलमा एकसे एक साथीहरूलाई संसद् लिएर जानेछु ।’

चितवन क्षेत्र नं २ बाट उम्मेदवार बनेका लामिछाने केही दिनदेखि क्षेत्र नं १ र ३ को घरदैलोमा समेत सहभागि छन् ।

चितवन क्षेत्र नं १ मा रास्वपाबाट हरि ढकाल र क्षेत्र नं ३ मा सोविता गौतम उम्मेदवार रहेका छन् ।

क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रेनु दाहाल उम्मेदवार रहेकी छन् । नेकपाका संयोजक समेत रहेका पुष्पकमल दाहाल प्रचण्डकी छोरी समेत रहेकी रेनु दुई कार्यकाल मेयर बनिसकेकी पात्र हुन् । रेनुले भरतपुर महानगरपालिकामा रहेर राम्रो काम गरेको चर्चा चलिरहेको र संघीय चुनाव समेत उनैले जित्ने दाबी गरिएका बेला रास्वपाले महिला नेतृलाई नै चुनावमा होमेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?