रविको गुनासो– ‘मलाई कारागारबाट जबरजस्ती पत्र थमाएर असुरक्षित ठाउँमा पठाइयो’

लोकपथ
133
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मतदाताहरुले भदौ २४ गते किन जेलबाट भागेको भन्दै प्रश्न गरेका छन् ।

चितवन क्षेत्र नं २ मा घरदैलोका क्रममा पुगेका पूर्वउपप्रधानमन्त्री समेत रहेका लामिछानेलाई मतदाताले त्यस विषयमा प्रश्न गरेका हुन् ।

भदौ २३–२४ को जेनजी आन्दोलन हुँदा लामिछाने सहकारी ठगीको मुद्दामा ललितपुरको नख्खु कारागारमा रहेका थिए ।

भदौ २४ को जेनजी आन्दोलनका क्रममा तोडफोड हुन थालेपछि लामिछानेलाई त्यहाँबाट उनका समर्थकहरुले निकालेका थिए ।

लामिछाने कारागारबाट निस्किएपछि अन्य कैदीबन्दीहरु समेत कारबागारबाट भागेको र त्यसमा लामिछानेको आलोचना समेत भएको थियो ।

सोमबार मत माग्न पुगेका लामिछानेलाई एक मतदाताले सोही विषयमा प्रश्न गरे ।

‘तपाईंँ जेनजी आन्दोलनको क्रममा जब जेलबाट बाहिर निस्किनु भयो । तपाईँ निस्किँदा धेरै कैदीबन्दीहरु पनि निस्किए, अब करिबकरिब तपाईँले नै नेतृत्व गरेको जस्तो हो कि भन्ने बाहिर चर्चा छ । तर सत्य कुरा के हो त नि !,’ ती मतदाताले रविलाई प्रश्न गर्दै सोधे ।

यता लामिछानेले आफूमाथि दोष मात्रै थोपरिएको भन्दै आपत्ति जनाए ।

नख्खु कारागार भन्दा केही किलोमिटर पर रहेको मन्त्री क्वाटर्रबाट नेताहरु हेलिकोप्टरबाट भागेको तर आफू सुरक्षित स्थानमा रहेको व्यक्तिलाई आगजनी भएको ठाउँमा जबरजस्ती निकालिएको दाबी गरे ।

ती मतदातासँग रविले गुनासो गर्दै भनेका छन् :

भदौ २४ गतेको घटनाका लागि जेलभित्र बसेको मान्छे बयान दिन जाने को हो ? त्यो मान्छे मै हो । जाँचबुझ आयोगले बोलायो म बयान दिन गएँ । आयोगलाई मैले सबै कुरा बताएँ, आयोगका अध्यक्षले के बताए भने, यो रवि लामिछानेको होइन रहेछ, उहाँले भनेको मैले सुनेँ । तर आयोगको रिपोर्ट त आउँदैछ । अध्यक्षले भनेको अन्तर्वार्ता म जेल बसेर हेरेँ । म जेलभित्र बसेको मान्छे, मसँग के पहुँच हुन्छ र ? मसँग सूचनाको सीमितता हुन्छन्, ५–६ वटा फलामे ढोकाभित्र जेल बस्नुपर्छ । त्यहाँभित्र बसेको मान्छेले के गर्न सक्छ होला र ? तर पनि त्यो दोष मेरो टाउकोमा हालिदिएको हुनाले बयान चाँही दिन गएँ, बयान दिएको छु । त्यसपछि रिपोर्ट आउला, तर उहाँले भनि चाँही के सक्नुभयो भने बरु रवि लामिछानेले जेल जोगाएको रहेछ । उसले नलैजाउ मलाई, बरु मलाई लैजाँदा कैदीबन्दी भाग्न सक्छन्, उहाँलाई धन्यवाद दिनुपर्छ भनेर जेलरले पनि बोल्नुभएछ, छानबिन आयोगका प्रमुखले पनि बोल्नुभएछ । म भन्दा एक किलोमिटर पर बसेका नेताहरुलाई हेलिकोप्टरबाट सुरक्षित ठाउँमा लगियो, सुरक्षित बसेको मान्छेलाई जेलबाट जबरजस्ती जा भनेर पत्र थमाएर निकालेर पठाइयो, त्यो पनि असुरक्षित ठाउँमा । जनताले आगो लगाएको ठाउँमा म गएँ । अरु भागेर गए, म जनताको हुलमा, जनताको भीडबाट गएँ । अब जेलभित्र बसेको मान्छेको त्यो कैदी भगाउने क्षमता हुन्छ कि हुन्न हजुरले बुझ्ने कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?