मुलुकलाई दुर्घटनाबाट जोगाउन कांग्रेसले निर्वाचनमा बहुमत ल्याउनु पर्छ : डा.सुनिल शर्मा

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर–३ का उम्मेदवार डा. सुनिल शर्माले मुलुकलाई दुर्घटनाबाट जोगाउन आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउनुपर्ने बताएका छन् ।

 मोरङको कानेपोखरी गाउँपालिका–५ मा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै शर्माले कांग्रेस नयाँ नेतृत्व, नयाँ मिसन र स्पष्ट भिजनका साथ अघि बढेकाले विजयी गराउनुको विकल्प नरहेको जिकिर गरे ।

उनले एक महिनाअघि कांग्रेसमा नयाँ–पुराना दुवै पुस्ताले रुचाएको नेतृत्व आएको उल्लेख गर्दै त्यसैलाई मतदान गर्न आम मतदातालाई अपिल गरे । ‘आजको कांग्रेस बदलिएर गाउँ–गाउँमा आएको छ । जेनजीदेखि ज्येष्ठ पुस्तासम्मले अपनत्व महसुस गर्ने नेतृत्व अहिले कांग्रेससँग छ,‘उनले भने ।

कांग्रेसको नेतृत्व परिवर्तनलाई ‘नयाँपन’को प्रमाणका रूपमा प्रस्तुत गर्दै शर्माले पार्टीले सम्मानजनक ढंगले सत्ता सन्तुलन पुनःस्थापित गर्दै नयाँ विचार र ऊर्जासहित अघि बढेको दाबी गरे । कांग्रेसका आदर्श र मूल्यलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याइएको उनले बताए ।

कार्यक्रममा शर्माले आफूले सो क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ३० वर्षमा पनि अरूले गर्न नसकेको काम गरेर देखाएको दाबीसमेत गरे । उनले बद्लिएको कांग्रेसलाई बहुमत दिएर देशलाई संकटबाट जोगाउन सबैलाई एकताबद्ध हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?