काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब अमेरिकी डलरको आकारमा पुर्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेका छन् ।
हाल करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई गुणात्मक फड्को मार्न औद्योगिक उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र अर्थतन्त्रको विकासमा बाधक कानुनी अड्चनको अन्त्य अपरिहार्य रहेको उनले बताए ।
परिसंघद्वारा आयोजित ‘स्वदेशी नेपालः मिट एण्ड ग्रेट, २०२६’ कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यस लक्ष्य हासिल गर्ने विषयमा परिसंघले विस्तृत अध्ययन गरिरहेको जानकारी दिए ।
उनका अनुसार औद्योगिक विकास र रोजगारी सिर्जनाका लागि लगानीमैत्री वातावरण निर्माण अत्यावश्यक छ । तर, अर्थतन्त्रको विकासमा अवरोध बनेका कानुन संशोधन गर्ने सरकारी गृहकार्य सुस्त भएकोप्रति उनले गुनासो व्यक्त गरे ।
परिसंघले कुन कानुन खारेज गर्ने, कुन संशोधन गर्ने र कुन नयाँ कानुन ल्याउनुपर्ने भन्ने विषयमा स्पष्ट दफासहितको सुझाव अध्ययनसहित सरकारलाई बुझाइसकेको उनले बताए । ती सुझावका आधारमा यसअघि केही कानुनमा सुधार भए पनि बाँकी कानुनमा क्रमशः सुधार आवश्यक रहेको उनको भनाइ छ ।
अध्यक्ष पाण्डेले संयुक्त राष्ट्र संघ पुँजी विकास कोष सँगको सहकार्यमा ‘एगोरा’ प्लेटफर्ममा आबद्ध भई नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्ने प्रयास भइरहेको जानकारी गराए ।
साथै स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धनका लागि ‘स्वदेशी’ कलेक्टिभ ट्रेडमार्कको प्रयोगमा जोड दिइएको पनि उनले बताए । सरकारी तथा सार्वजनिक संस्थाहरू, नेपाली सेना र नेपाल प्रहरीजस्ता निकायहरूले स्वदेशी वस्तु तथा सेवाको प्रयोग अनिवार्य गरे औद्योगिक उत्पादनमा ठुलो टेवा पुग्ने उनको विश्लेषण छ ।
आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि उपभोगको शैलीमै परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले निजी क्षेत्र र सरकारको एकीकृत प्रयासबाट मात्र लक्ष्य हासिल गर्न सकिने बताए ।
अध्यक्ष पाण्डेले आगामी १० वर्षभित्र हालको अर्थतन्त्रलाई १०० अर्ब डलरको स्तरमा पुर्याउने दृढ संकल्पका साथ परिसंघ अघि बढिरहेको स्पष्ट पार्दै, लगानी प्रोत्साहन र स्वदेशी उत्पादनको अधिकतम प्रयोगले समग्र अर्थतन्त्र बलियो बन्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया