जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् ।
माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरीले जनाएको छ । उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशङ्का छ ।
रीना देवीका श्रीमान् ३५ वर्षीय उमेश यादव भने घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
मिथिला बिहारी नगरपालिका–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए ।
मृतक दम्पतीका चार वर्षीय छोरा छन् । बालकको एउटा तिघ्रामा समेत धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
घटनास्थलको प्रकृति शङ्कास्पद देखिएको भन्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ । घटनाको कारण तथा दम्पतीको मृत्युको वास्तविक परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया