काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को दक्षिण एसिया विभागको महानिर्देशकमा नेपालकी सोना श्रेष्ठ नियुक्त भएकी छिन् । भारत, मालदिभ्स, नेपाल, बंगलादेश, भुटान र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी उनलाई नियुक्त गरिएको हो ।
एडीबीमा हालसम्म उच्च नेतृत्वमा पुग्ने थोरै नेपाली कर्मचारीमध्ये श्रेष्ठ एक हुन् । उनी २०२५ अप्रिल ३ देखि दक्षिण एसिया विभागकै उपमहानिर्देशकको जिम्मेवारीमा थिइन् ।
‘दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त हुन पाउँदा सम्मानित महसुस गरेकी छु,’ श्रेष्ठले भनिन्, ‘समावेशी र दिगो विकासमा सहयोग पु¥याउन एडीबीको संलग्नता अझ गहिरो बनाउन यस क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न उत्सुक छु ।’
अर्थशास्त्र विषयमा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट पीएचडी गरेकी श्रेष्ठले अमेरिकाकै स्मिथ कलेजबाट अर्थशास्त्रमा बीए गरेकी छिन् ।
श्रेष्ठले अन्तर्राष्ट्रिय विकास क्षेत्रमा बिताएका २७ वर्षमध्ये एडीबीमै २३ बिताएकी छिन् ।
एडीबी एसिया र प्रशान्त क्षेत्रमा समावेशी, उत्थानशील र दिगो वृद्धिलाई समर्थन गर्ने एक प्रमुख बहुपक्षीय विकास बैंक हो । सन् १९६६ मा स्थापित एडीबीमा ६९ सदस्य राष्ट्रहरूको स्वामित्व छ, जसमध्ये ५० राष्ट्र एसियाका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया